काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार काठमाडौंमा सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको सभापतित्व तथा मुख्य कम्पनी माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको आतिथ्यमा कम्पनीले वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभाबाट सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आव २०७८/०७९ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरणहरू, आव २०७९/०८० का लागि लेखापरीक्षकको नियुक्ति, स्वतन्त्र सञ्चालक नियुक्ति तथा नियमावलीमा गर्नुपर्ने आवश्यक संशोधनहरू पारित भएका छन् । कम्पनीको तेस्रो वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गर्न सक्रिय भूमिका निर्वाह गर्ने सेयरधनीहरूप्रति कम्पनीका अध्यक्ष तथा यस सभाका सभापतिले धन्यवाद व्यक्त गर्दै हाल कम्पनीले मुख्यगरी धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य सेवालगायतका सेवा प्रवाह गर्दै आएको र कम्पनीले आगामी वर्षमा निष्काशन तथा बिक्री प्रबन्धक, म्युचुअल फण्ड, विशिष्टीकृत लगानी कोषलगायतका थप सेवासहित बजारमा आउने योजना रहेको बताए ।
कम्पनीले आगामी दिनमा पुँजी बजारको विकासमा अझ बढी टेवा पुग्ने गरी कार्य गर्ने कुरामा विश्वस्तता व्यक्त गरे । साथै, कम्पनीको प्रगतिका लागि प्रत्यक्ष वा अप्रत्यक्षरूपले मार्ग दर्शन गर्ने तथा योगदान दिने मुख्य कम्पनी माछापुच्छ्रे बैंक लि., नियामक निकायहरू, लेखापरीक्षकहरू, सेवाग्राही, कानुनविद्, सञ्चारकर्मीहरू, विभिन्न सम्बद्ध संस्थाहरू, सेयरधनीहरू तथा कम्पनीका कर्मचारीहरू सबैलाई हार्दिक धन्यवाद व्यक्त गरे ।