काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको वार्षिक साधारणसभाले नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जरकार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गरेको छ ।
बिहीबार काठमाडौंमा सम्पन्न १२औँ वार्षिक साधारणसभाले मूल्यांकनकर्ताबाट प्राप्त दुवै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदनअनुसार संयुक्त मर्जर समितिको सिफारिसमा मेगा बैंकको सञ्चालक समितिले स्वीकृत गरेबमोजिम मेगा बैंकको एक सय कित्ता सेयरबराबर मेगा बैंकका सेयरधनीहरूलाई मर्जरपछि बन्ने बैंकको ९० कित्ता सेयर प्राप्त हुनेगरी सेयर आदानप्रदान अनुपात (१००ः९०) मा एक–आपसमा गाभ्ने/गाभिने (मर्जर) कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गर्ने निर्णय गरेको हो । योसँगै नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जरको बाटो खुलेको छ । दुवै बैंक एक–आपसमा गाभिई संयुक्त कारोबार गर्ने, बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड रहनेछ ।
साधारणसभामा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले मर्जरपछि दुवै बैंकको नाम र कामअनुसारको गरिमालाई उँचो बनाउन दुवै बैंकमा रहेका असल परम्परा संस्कार, ग्राहकहरूको सेवा, कर्मचारीहरूको मिलान र व्यवस्थापन तथा सेयरधनीहरूको जेथा र लाभांशमा न्यायोचित वृद्घि र निरन्तरता दिइने विश्वास व्यक्त गरे । ‘हामीले हलोदेखि हाइड्रोसम्मको नारा र अभियानका साथ बैंक स्थापना गरेका थियौँ, सोहीअनुरूप सबैभन्दा बढी सेयरधनी भएको बैंक र सबैभन्दा बढी दुई अर्ब ३३ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकको रूपमा मेगा बैंक स्थापना भयो ।
त्यही मौलिकतालाई आत्मसात् गर्दै हामीले नयाँ रूपमा बैंकलाई अगाडि बढाउने रणनीति तयार गरेका थियौँ, मर्जरपछि बन्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड देशकै ठूलो बैंक बन्ने विश्वास लिएको छु’, अध्यक्ष शाहले भने । यसैगरी, साधारणसभाले सेयरधनीहरूका लागि बोनस सेयरसहित सात दशमलव ७९ प्रतिशत लाभांश पारित गरेको छ । आव २०७८/०७९ सम्म सञ्चित भएको वितरणयोग्य रकम एक अर्ब २६ करोड ३० लाख ५९ हजार पाँच सय २० रुपैयाँबाट हाल कायम चुक्ता पुँजी १६ अर्ब १२ करोड चार लाख ६१ हजार चार सय ५३ रुपैयाँ ३६ पैसाको चार प्रतिशतले हुन आउने रकम अक्षरेपी ६४ करोड ४८ लाख १८ हजार चार सय ५८ रुपैयाँ १३ पैसा बोनस सेयर लाभांश र तीन दशमलव ७९ (राउन्डिङमा) प्रतिशतले हुन आउने रकम ६१ करोड दुई लाख ४३ हजार दुई सय ८० रुपैयाँ ६६ पैसा नगद लाभांश साधारणसभाले पारित गरेको हो ।
साधारणसभालाई सम्बोधन गर्दै मेगा बैंक नेपाल लिमिटेडकी कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले मेगा बैंकले लिएको हलोदेखि हाइड्रोसम्म नारा सार्थक र सफल भएको बताइन् । आर्थिक समावेशितालाई प्राथमिकता दिँदै जनताको घरदैलोमा बैंकको सेवा पु-याई सहरदेखि दूरदराजका गाउँसम्मका आममानिसको बैंक बनाउने उद्देश्यबाट अभिप्रेरित भएर स्थापना भएको मेगा बैंकले वित्तीय बजारमा उत्कृष्ट छविको परिचय बनाउनुका साथै भरोसा र विश्वास आर्जन गर्न सफल भएको उनले बताइन् ।
आधुनिकीकरण र प्रविधिकरणलाई आत्मसात् गर्दै मेगा बैंकले ग्राहकहरूलाई अन्यन्तै नवीनतम र आकर्षक डिजिटल बैंकिङ सेवाप्रदान गरिरहेको कामु सीईओ श्रेष्ठले बताइन् । कामु सीईओ श्रेष्ठले मेगा बैंकको वित्तीय परिसूचक सन्तोषजनक रहेको बताइन् । उनका अनुसार, चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिसम्म बैंकको कुल निक्षेप ९५ करोड रुपैयाँले वृद्धि भई एक खर्ब ५७ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ ।
यसैगरी कर्जा तीन अर्ब ९१ करोड रुपैयाँले वृद्धि भई एक खर्ब ५३ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । गत त्रैमासमा बैंकले ५० करोड ९२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यसैगरी कोभिडबाट प्रभावित देशको अर्थतन्त्रलाई उकास्न मेगा बैंकले करिब छ अर्ब तीन करोड रुपैयाँ सहुलियत कर्जा र पाँच अर्ब १९ करोड रुपैयाँ पुनर्कर्जाहरू प्रवाह गरेको छ ।
बैंकलाई थप मजबुत एवं प्रतिस्पर्धी बनाउन, व्यवसायको दायरा एवं आकारमा वृद्घि गर्न, शाखा तथा सञ्जालहरूको विस्तारलाई मेगा बैंकले अगाडि बढाउँदै आएको छ । जसअन्तर्गत २०७८/०७९ मा मेगा बैंकले २१ वटा नयाँ शाखा र एउटा नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याई नौवटा एक्सटेन्सन काउन्टरलाई शाखामा स्तरोन्नति गरिएको छ । हाल बैंकको दुई सय आठवटा शाखा, २७ वटा एक्स्टेन्सन काउन्टर रहेका छन् ।