काठमाडौं । सेयर बजार परिसुचक पुन: ओरालो लागेको छ । अघिल्लो दुई कार्यदिन लगातार उच्च अंकले बढेको सेयर बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार भने दोहोरो अंकले घटेको छ ।
अघिल्लो दिन झण्डै ६० अंकले उकालो लागेको बजार परिसुचक आज ११ दशमलव ८१ अंकले ओरालो लागेर १९ सय ७२ दशमलव १५ बिन्दुमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ७२ अंकले ओरालो लागेर तीन सय ८१ दशमलव ३२ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ५७ वटा कम्पनीहरुको ३९ हजार छ सय ६० पटक सेयर कारोबार भएको छ । जसबाट ६५ लाख ३० हजार चार सय १५ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोबार रकम दुई अर्ब १५ करोड ३५ लाख ४७ हजार दुई सय सात रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये पाँच वटा उपसमुहहरुको सुचक उकालो लागेर बाँकी उपसमुहको सुचक ओरालो लागेका छन् ।