काठमाडौं । नेपाल राष्ट्र बैंकले थप चारवटा वाणिज्य बैंकहरुलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाडौंलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो ।
यसैगरी सोही दिन बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई पनि मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले पुस ७ गते साधारणसभा गरी मर्जरको प्रस्ताव पारित गरेका थिए । मर्जरमार्फत यी दुई बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको नाउँबाट एकीकृत कारोबार सुरु गर्नेछन् । उक्त नामबाट एकीकृत कारोबार सञ्चालन गर्न राष्ट्र बैंकले यी दुई बैंकलाई स्वीकृति दिइसकेको छ ।
ग्लोबल आईएमई बैंक र बीओकेको मर्जरको हकमा भने यी दुई बैंकले ‘ग्लोबल आईएमई बैंक’को नामबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । यी दुई बैंकले सोही नाउँबाट एकीकृत कारोबार सञ्चालन गर्न राष्ट्र बैंकले अनुमति दिएको छ । यसअघि यी दुई बैंकले ‘ग्लोबल आईएमई बीओके लिमिटेड’ नामबाट एकीकृत कारोबार गर्न प्रस्ताव वार्षिक साधारणसभाबाट पारित गर्दै सोही नाउँबाट एकीकृत कारोबार सञ्चालन गर्न राष्ट्र बैंकसँग अनुमति माग गरेको थियो । तर राष्ट्र बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले उक्त नाम निकै लामो भएको भन्दै ग्लोबल आईएमई बैंक लिमिटेडको नाउँबाट एकीकृत कारोबार सञ्चालन गर्न अनुमति दिएको थियो । मर्जरको लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएका यी चार बैंकले कम्पनी रजिष्टर्डको कार्यालयबाट स्वीकृति पाएलगत्तै एकीकृत कारोबार सुरु गर्ने तयारी गरेका छन् ।
यसैबीच, पछिल्लो समय थप पाँच दर्जन वाणिज्य बैंकहरु मर्जरको प्रक्रियामा रहेको र यसमध्ये केहीले मर्जर प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार सुरु गरेका छन् । सोही आधारमा वाणिज्य बैंकहरुको संख्या २६ वटाबाट घटेर २१ वटामा झर्ने भएको छ । यही पुस १७ गते अर्थात् आइतबारबाट कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी)ले एकीकृत कारोबार सुरु गरिसकेका छन् । दुवै बैंकले मर्जरमार्फत कुमारी बैंक लिमिटेडको नामले एकीकृत कारोबार सुरु गरेका हुन् । सो अनुसार आइतबारबाट वाणिज्य बैंकहरुको संख्या २५ वटामा झरिसकेको छ । यीबाहेक मर्जरको प्रक्रियामा अन्य आठवटा बैंकहरु पनि रहेको र यी बैंकहरुले पनि एकीकृत कारोबार सुरु गर्दा वाणिज्य बैंकहरुको संख्या २१ वटामा झर्ने देखिएको हो ।

मर्जरको प्रक्रियामा रहेका बैंकहरुमा ग्लोबल आर्ईएमई बैंक र बैंक अफ काठमाण्डू, प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक, हिमालयन बैंक र सिभिल बैंक एवं नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक रहेका छन् । यीमध्ये ग्लोबल आईएमई र बीओके एवं नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकलाई नेपाल राष्ट्र बैंंकले मर्जरको लागि अन्तिम स्वीकृति दिइसकेको छ भने बाँकी बैंंकहरु स्वीकृतिको प्रक्रियामा रहेका छन् । मर्जरको लागि अन्तिम स्वीकृति पाएको ग्लोबलले बीओकेलाई आफूमा गाभेर ३५ अर्ब ७७ करोड रुपैयाँ चुक्ता पुँजी भएको ग्लोबल आर्ईएमई बैंकको नाउँमा एकीकृत कारोबार सुरु गर्नेछ ।
यसैगरी प्रभु र सेञ्चुरी कमर्सियल बैंक मर्ज भएपछि २१ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको बैंक बन्नेछ । हिमालयन बैंक र सिभिल बैंक पनि मर्ज भएपछि २१ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको बैंक बन्नेछ । यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्ज भएपछि बन्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको चुक्ता पुँजी पनि ३४ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी पुग्नेछ । यही आइतबार मात्र मर्जर प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार सुरु गरेको कुमारी बैंक लिमिटेड (नेपाल क्रेडिट एण्ड कमर्स बैंक) को चुक्ता पुँजी पनि २६ अर्ब २३ करोड रूपैयाँ पुगेको छ ।