धनगढी, फागुन २९
धनगढीदेखि अत्तरीयामा रहेका पसललेहरूले ब्राण्डेडका नाममा अत्यधिक मूल्य लिई उपभोक्तालाई ठग्ने गरेको पाइएको छ । उक्त पसलले ‘सेल’का नाममा चक्र्रो मूल्य लिई सोझा उपभोक्तालाई ठग्ने गरिएको पाइएको हो । प्रचलित मूल्यभन्दा कयौँ गुना बढी मूल्य राखेर ५० प्रतिशतभन्दा बढी छुट दिएको हवाला दिँदै उपभोक्तालाई ठगी गर्ने गरिएको पाइएको छ ।
पसलहरूमा व्यापारीहरूले हरेक सामानमा ११ गुणासम्म मूल्य लिइएको पाइएको छ । ब्राण्डेड पसलमा एक हजार रूपैयाँ पर्ने कपडा चारदेखि पाँच हजार, दुई हजार रूपैयाँ पर्ने जुत्ता १५ हजार रूपैयाँसम्म लिने गरेको देखिएको छ । २० प्रतिशतभन्दा बढी नाफा खान नपाइने कानुनी व्यवस्था रहे पनि शत प्रतिशत मूल्य बढाएर व्यवसायीले उपभोक्ता ठगिरहेका छन् । गौरीगंगा नगरपालिका वडा नं–२ बाट घरायसी प्रयोजनका लागि सामग्री किनमेल गर्न आएका हरिकृष्ण कडायतले ब्राण्डेडका नाममा खुलेका पसलहरूबाट आफू ठगिएको दाबी गरे । उनले दुई हजार पर्ने जुत्तालाई १५ हजार, एक हजार पाँच सयको पाइन्टलाई आठ हजार तिर्न परेको गुनासो गरे । नजिकको बजारमा सामान किन्न ठगिनु परेकोले आफूहरू सामान किन्न छिमेकी राष्ट्र भारतको पलियाँ तथा गौरीफँण्टा (बनगाउँ) पुग्नुपर्ने बाध्य रहेको उनले बताए । यसरी उपभोक्ता ठगिने क्रम सुदूरपश्चिम प्रदेशको नौवटै जिल्लाको बजारी क्षेत्रमा बढ्दै गइरहेको छ ।
भन्सार छुट र नक्कली सामग्री भित्रिँदा नेपाली बजारका ग्राहकहरूले समस्या भोग्नुपरेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष हरि रेग्मीले बताए । उपभोक्ता मञ्चले अनुगमनको प्रयास जारी राखेको बताए । अनुगमनका क्रममा व्यवसयायीले अत्यधिक मूल्य लिई उपभोक्ता ठगियो देखिएमा कारबाही गरिने उनको भनाइ छ । व्यवसायीले पुराना कमसल सामान दोब्बर वा तेब्बर मूल्य राखेर ५० प्रतिशत छुट दिई खुलेआम ठगिरहेका छन् । बजारमा कालाबजारी, कृत्रिम अभाव, कम तौलको सामान बिक्री, लेबल नभएका म्याद नाघेका सामान बिक्रीजस्ता विकृति मौलाउँदै गएका छन् ।