काठमाडौं, फागुन २९
विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम)ले युवा सशक्तीकरण तथा सामाजिक न्यायको प्रवर्द्धनमा पु-याएको योगदानको कदर गर्दै नेपाली युवा प्रदिप परियारलाई योङ ग्लोबल लिडर्स (वाइजीएल) २०२० अवार्डबाट सम्मानित गरेको छ । मञ्चका संस्थापक क्लाउस् स्वाबले सन् २००४ मा वाईजिएल फोरम स्थापना गर्दै यो अवार्ड सुरू गरेका हुन् । विश्वमा बढ्दो जटिलता एवं चुनौतीहरू सामना गर्न सक्षम युवा नेतृत्व विकास गर्ने उद्देश्यले यो अवार्डको स्थापना गरिएको हो ।
परियार यो वर्ष वाइजिएल अवार्डबाट सम्मानित हुने एक्ला नेपाली युवा हुन् । बुधबार जारी गरिएको वक्तव्यमा भनिएको छ, ‘युवा सशक्तीकरण, शान्ति निर्माण र दलित एवं सीमान्तकृत समुदायको सामाजिक समावेशीकरणमा परियारले पु¥याएको योगदान र सम्भावनाको आधारमा उनलाई वाइजिएल अवार्ड प्रदान गरिएको हो ।’
यसअघि सन् २०१५ मा नेपाली कांग्रेसका नेता तथा सांसद् गगन थापाले वाइजिएल अवार्ड पाएका थिए । थापाले त्यसपछि स्वास्थ्य मन्त्रालयको नेतृत्व समेत सम्हालिसकेका छन् । वाइजिएल अवार्ड पाउने युवाको नेतृत्व क्षमता, नवीन सोंच एवं कल्पनाशीलता परिष्करण गर्न विश्व आर्थिक मञ्चले तिनलाई विभिन्न विश्वप्रसिद्ध विश्वविद्यालयमा पढ्ने र अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो विचार एवं अनुभव राख्ने अवसर प्रदान गर्दै आएको छ । पाँच वर्षसम्म चल्ने वाइजिएल क्लास अफ २०२० मा छनोट भएपछि परियारले भने, “मेरा लागि मात्रै नभएर नेपालको समग्र युवा आन्दोलन र सीमान्तकृत समुदायका लागि पनि यो गौरवको विषय हो ।” हाल समता फाउण्डेसनको कार्यकारी अध्यक्षका रूपमा कार्यरत परियारले युवा, शान्तिनिर्माण र सामाजिक न्यायसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिनिर्माण गर्न १८ वर्षभन्दा लामो समय काम गरेका छन् । समता फाउण्डेसन जातीय विभेद तथा सीमान्तकृत समुदायको क्षेत्रमा विशेज्ञता हासिल गरेको अग्रणी थिंकट्यांक हो ।
परियारले यसअघि सन् २०१८ मा एसिया २१ योङ लिडर्स र सन् २०१५ मा युवा नेतृत्व अवार्ड पनि पाएका थिए । उनी सन् २०११ को विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका युथ फेलो पनि हुन् । परियारले सन् २०११ मा नेपालको पहिलो युवामैत्री बजेट, राष्ट्रिय युवा नीति (२०१५) र युथ भिजन २०२५ ल्याउन पनि महत्वपूर्ण भूमिका खेलेका छन् । संयुक्त राष्ट्रसंघको युवा, शान्ति र सुरक्षा सम्बन्धी पहिलो सङ्कल्प प्रस्तावको मस्यौदामा पनि परियारको भूमिका छ । उनले खासगरी सामाजिक समावेशीकरणको दृष्टिकोणबाट युवाका आकांक्षा एवं अनुभवहरू प्रस्तुत गरी त्यो मस्यौदालाई आकार दिन सहयोग पु-याएका थिए ।
सन् २०१८ मा संयुक्त राष्ट्र संघको मानवअधिकारसम्बन्धी उच्चायुक्तको कार्यालय, जेनेभामा जातीय विभेद उन्मूलनसम्बन्धी समितिबारे छायाँ प्रतिवेदन बुझाउने टोलीमा पनि परियार संलग्न थिए । परियारसँग सोमालिया, म्यान्मार र टिमोर लेस्टेमा युवा र शान्तिनिर्माणका लागि काम गरेको अनुभव पनि छ । विश्वभरि उनले दुई हजारभन्दा धेरै युवालाई प्रशिक्षण दिएका छन् । युवा, शान्ति र मिडियासम्बन्धी मुद्दाबारे परियारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो विचार प्रस्तुत गर्दै आएका छन् ।