हङकङ, फागुन २९
वायुसेवा कम्पनी क्याथे प्यासिफिकले यो वर्ष ठूलै घाटा हुने अनुमान प्रक्षेपण गरेको छ । यो वर्षको सुरुवातमै फैलिएको कोरोना भाइरसको कारण सुरुवाती छ महिनामा ठूलै घाटा हुने कम्पनीले जनाएको छ । क्याथे हङकङको वायुसेवा प्रदायक हो । गत वर्ष (२०१९ मा) पनि कम्पनीको नाफा २८ प्रतिशतले घटेको थियो । हङकङमा गत वर्ष राजनीतिक प्रदर्शनले चौपट भएको स्थिति सम्हालिन नपाउँदै कोरोनाले व्यवसाय नराम्ररी प्रभावित भएको छ । पछिल्लो भाइरस संक्रमणको सिधा असर पर्यटन, होटल र हवाइ क्षेत्रमा नराम्ररी परेको छ । कम्पनीका प्रमुख प्याट्रिक हिलेले सुरुवाती छ महिना वित्तीय हिसाबले निकै चुनौतीपूर्ण रहेको बताएका छन् ।
विश्वभर भाइरसकै कारण हजारौँ उडान रद्द भएका छन् । ब्रिटिश एयरवेज, -यानएयर, इजी जेटले अप्रिलसम्म इटालीका सबै उडान रद्द गरेका छन् भने नर्वेजियन एयर र अमेरिकन एयरलाइन्सले पनि सेवा कटौतीको घोषणा गरिसकेका छन् । कम्पनीले खर्च कटौती गर्न उडान घटाइसकेको छ । गत वर्ष कम्पनीले १ अर्ब ६९ करोड हङकङ डलर कुल नाफा देखाएको थियो । तर सन् २०१८ को तुलनामा यो नाफा पनि कम हो । उक्त वर्ष कम्पनीले २ अर्ब ३५ करोड एचके डलर नाफा आर्जन गरेको थियो ।