विराटनगर । भारत सरकारले गहुँ आयातमा प्रतिबन्द गरेपछि सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालित अधिकांश मैदा उद्योगहरु बन्दप्राय छन् । यसको मौका छोपेर यहाँ सञ्चालित दुईवटा मैदा उद्योगहरुले भने मैदामा भारी मूल्यवृद्धि गरेको पाइएको छ ।
स्रोतका अनुसार करिडोरको न्युटी फुड्स र गोमती फलोर मिल्सले सेटिङमा गहुँको आयात गरी मैदा उत्पादनलाई निरन्तरता दिइरहेका छन् । मैदा उद्योगी एवं व्यापारी प्रदिप सारडा र हरीवंश राठीले गहुँको हाहाकार हुँदा समेत मैैदा उत्पादनलाई निरन्तरता दिइरहेका हुन् । साथै उनीहरुले मैदाको मूल्य दुई गुणाभन्दा बढी बढाएका छन् । प्रतिमेट्रिक टन चार हजार आठ रुपैयाँको भाउमा कारोबार हुँदै आएको मैदाको मूल्य हाल दुवै उद्योगले नौ हजार दुई सय रुपैयाँको मूल्य निर्धारण गरेका छन् । सुनसरी मोरङ औद्योगिक करिडोरमा आठवटा मैदा उद्योग सञ्चालन हुँदै आएकामा पछिल्लो समय यी नै दुईवटा उद्योग मात्रै सञ्चालनमा छन् । गहुँको आयात भारत सरकारले बन्द गरेपछि करिडोरमा रहेका अन्य उद्योगहरु बन्द भएका हुन् ।
गहुँको हाहाकार भएसँगै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्ममा सञ्चालनमा रहेका मैदा उद्योगहरुमध्ये अहिले वीरगञ्जमा ऋद्धिसिद्धि ग्रुपबाट सञ्चालित मैदा उद्योगको एकलौटी बजार रहेको छ । अहिले उसैको नेतृत्वमा मैदा उद्योगीहरुले नयाँ समुह समेत बनाएका छन् । सो समूहमा बस्नका लागि प्रत्येक उद्योगीले सातदेखि आठ लाख रुपैयाँ अग्रीम बुझाउनुपर्ने बताइन्छ । उक्त उद्योगीको समूहले गहुँको हाहाकारमा पनि सेटिङबाट गहुँको आयात गरेर आफ्ना उद्योगहरुमा वितरण गर्नेगरेका छन् । उनीहरुले राजस्व अनुसन्धान विभागदेखि प्रहरी प्रशासन, भन्सार सबैलाई सेटिङमा मिलाएर गहुँ आयात गर्ने गरेका छन् । निश्चित समूहले गहुँको आयोत गरेर मैदामा भारी मूल्य वृद्धि गर्दा समेत राजस्व अनुसन्धान कार्यालय सुनसरी भने बेखबरजस्तै छ ।
निर्वाचन आचारसंहिता लागेका बेला शक्ति केन्द्रको आशिर्वादले सरुवा भई राजस्व अनुसन्धान सुनसरीको जिम्मेवारी सम्हाल्न आइपुगेका खेम ओझाले मैदा हाहाकार हुँदा खुलेयाम अवैध बाटो भएर आएको गहुँ नियन्त्रणमा कुनै चासो नदिएको स्थानीय सरोकारवाला बताउँछन् । यस सम्बन्धमा प्रमुख अनुसन्धान अधिकृत ओझालाई सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन ।