काठमाडौं । ‘डिजिटल फर्स्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङको प्रवद्र्धन गरिरहेको एनआईसी एसिया बैंक लिमिटेडले ‘सेलेब्रेटिङ डिजिटल पार्टनरसिप’ भन्ने मूल भावका साथ २०७९ माघ १३ गते ‘एनआईसी एसिया मर्चेन्ट मिट २०२३’ सम्पन्न गरेको छ । बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावलको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका बैंकका एक सय ५० भन्दा धेरै व्यावसायिक साझेदारहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
‘डिजिटल नेपाल फ्रेमवर्क’ र विश्व बजारमा भइरहेका सूचना प्रविधिको विकासलाई आत्मसात गर्दै ‘डिजिटल फस्र्ट बैंक’ बन्ने यस बैंकको दीर्घकालीन लक्ष्यमा मर्चेन्टहरूले देखाउनु भएको उत्साहजनक सहभागिता, सहकार्य र योगदानको उच्च मूल्याङ्कन र कदर गर्दै सहयात्रालाई पुनर्ताजगी गर्ने हेतुले ‘एनआईसी एसिया मर्चेन्ट मिट २०२३’ आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा बैंकका लाइफ स्टाइल बैंकिङ युनिर्भस प्रमुख श्याम प्रसाद लामिछानेले हाल बैंकले प्रदान गर्दै आइरहेको विभिन्न डिजिटल सेवाहरू तथा बैंकले आगामी दिनमा सुरु गर्न लागेका सेवाहरूको बारेमा जानकारी गराएका थियो । साथै, यस प्रकारको कार्यक्रमहरू आगामी दिनमा समेत देशका विभिन्न स्थानमा आयोजना गर्ने बैंकको योजना रहेको छ । हालसम्म २१ लाख बढी मोबाइल बैंकिङ ग्राहक, १४ लाख बढी डेबिट तथा क्रेडिट कार्डवाहक, दुई लाख बढी क्यूआर मर्चेन्ट, चार हजार बढी पीओएस मर्चेन्ट तथा तीन सय बढी ई–कमर्स मर्चेन्टहरूको साथै विभिन्न भुक्तानी प्रणालीसँग सम्बन्धित संस्थाहरूले बैंकसँग सहकार्य गरिरहेका भएको छ ।
एनआईसी एसिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जालहरू भएका बैंकहरूमध्येको बैंक हो । बैंकले मुलुकभर तीन सय ५९ वटा शाखा कार्यालयहरू, चार सय ७३ वटा एटीएम, एक सय छवटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिकरूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु-याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा तीन अर्ब ४१ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रूपमा स्थापित हुन बैंक सफल भएको छ । जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैटौँ ठूलो योगदान रहेको कम्पनीहरूमध्येको हो ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।