काठमाडौं । पञ्चायती व्यवस्थाविरुद्धको अभियानका नेता मदन चन्दको यही फागुन ३ गते निधन भएकोे छ । पञ्चायती व्यवस्थाविरुद्ध बोले मात्रै जेल हुने समयमा प्रजातन्त्र प्राप्तिका लागि जेल र हिरासत गरी ५७ पटक पक्राउ परेका चन्द २०३६ देखि २०६२ सालसम्म पटक–पटक क्रमशः पञ्चायती व्यवस्था र राजत्रन्त्रका विरुद्ध लडेका थिए ।
पञ्चायती व्यवथाविरुद्ध कसैको बोल्नसक्ने अवस्था नहुँदा महेन्द्रनगरको खुल्ला मन्चमा २०४६ साल फाल्गुन ७ गते कालो झन्डा देखाउने हिम्मत गर्ने सुदूरपश्चिमका एकमात्र नेता थिए चन्द । उनलाई दरबारबाट गोली हान्ने आदेश आए पनि बच्न सफल भएका व्यक्ति हुनाले उनलाई २०४६ पछि कृष्ण प्रशाद भट्टराई, गणेशमान सिंह र गिरिजा प्रसाद कोइरालाले ज्युँदा सहिद भनेका थिए ।
तिनै ज्युँदा सहिद चन्दको सम्मानका लागि कन्चनपुरका नागरिकहरूले ९०औँ जन्मदिनमा गत वर्ष सुदूरपश्चिममै पहिलो पटक रथारोहण गरी महेन्द्रनगर नगर परिक्रमा गरएका थिए ।
बैतडी जिल्लाको अति नै विकट रोदिदेवलको तिताबै भन्ने ठाउँबाट भारतमा मजदुर काम गर्दा गर्दै भारतीय सेनामा जागिर गरेका चन्दले भारतीय सेनाको तर्फबाट सन् १९६१ मा गोवा लडाई, सन् १९६२ को भारत–चीन लडाइँ, सन् १९६५ को भारत पाकिस्तान र सन् १९७१ को भारत पूर्वी पाकिस्तान (बंगलादेश)को लडाइ लडेका थिए । चन्दले भारतीय सरकारको तर्फबाट चार विजेता पदकसहित करिब एक दर्जन मान पदक पाएका थिए । भारतीय सेना अवकाशपछि नेपालमा आफैँले पञ्चायती व्यवस्थाविरुद्ध लड्ने भूपू सैनिक दल २०३१ गठन गरेका थिए । स्वर्गीय चन्दका एक श्रीमती, तीन छोरा र दुई छोरी छन् ।