काठमाडौं । सवारी साधनमा यात्रुलाई जोखिमपूर्ण यात्रा गराउने २१ हजार पाँच सय आठ जना चालकलाई काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले कारबाही गरेको छ । यस आर्थिक वर्षको माघ मसान्तसम्म ढोका खुला राखेर सवारी गुडाँउदै गरेका मात्रै १५ हजार छ सय २९ जना चालकहरू कारबाहीमा परेका छन् ।
प्रहरीका अनुसार साउन महिनामा दुई हजार छ सय ८३, भदौमा दुई हजार आठ सय ७३, असोजमा सात सय ४९, कात्तिकमा एक हजार आठ सय २६, मंसिरमा दुई हजार आठ सय २६, पुसमा दुई हजार सात सय ३४ र माघ महिनामा एक हजार नौ सय ३८ जना चालक कारबाहीमा परेका हुन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले ढोका खुला राखेर सवारीसाधन गुडाउँदा परिचालक तथा यात्रु ढोकाबाट खसेर दुर्घटना हुने भएकाले जोखिम न्यूनीकरणका लागि कारबाहीलाई तीव्रता दिइएको बताए ।
यस्तै, क्षमताभन्दा बढी यात्रु राखेर सवारी चलाउँदै गरेका पाँच हजार आठ सय दुई जना चालकलाई पनि कारबाही गरिएको छ । साउन महिनामा सात सय नौ, भदौमा एक हजार ३४, असोजमा सात सय ४९, कात्तिकमा सात सय ५९, मसिरमा सात सय ५९, पुसमा एक हजार ११ र माघ महिनामा सात सय ८१ जना चालकलाई कारबाही गरिएको हो ।