काठमाडौं । यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि नेपाली कांग्रेसले पार्टीका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसको शनिबार बिहान केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले उनलाई राष्ट्रपतिको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको पार्टीका उपसभापति धनराज गुरुङले जानकारी गराए ।
नेकपा (माओवादी केन्द्र), कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बसेको संयुक्त बैठकले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।
यही फागुन २५ गते हुने मुलुककोे सर्वोच्च पद राष्ट्रपतिको निर्वाचनका लागि नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म शनिबार फागुन १३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।