काठमाडौं । अति कम विकसित मुलुकहरु(एलडिसी)को सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ आज कतारको दोहा जाने भएका छन् ।
यही फागुन २१ देखि २५ गतेसम्म आयोजित सो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपप्रधानमन्त्री श्रेष्ठ त्यसतर्फ जाने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालले यसवर्ष अति कम विकसित देशहरु (एलडिसी)को अध्यक्षता ग्रहण गर्ने कार्यक्रम छ । यसअघि मालवीले अध्यक्षता ग्रहण गरेको थियो ।
त्यस्तै उपप्रधानमन्त्री श्रेष्ठले विभिन्न देश तथा सङ्घ संस्थाका प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यसूची रहेको छ । यसअघि यो सम्मेलनमा प्रधानमन्त्री जाने भनिए पनि राष्ट्रपति निर्वाचनका कारण उनले आफ्नो भ्रमण रद्द गरेका थिए ।
उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, सांसद जीतेन्द्रनारायण देव, नेपाल सरकारका सचिव तथा कतारस्थित नेपाली राजदूतलगायत छन् ।