काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सीआईबीका सहायक प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दुर्गा प्रसाद दाहालका अनुसार गोरखा आरुघाट गाउँपालिका–५ स्थायी वतन भई हालकाठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने २७ वर्षीय कृष्ण बहादुर गुरुङलाई शुक्रबार पक्राउ गरिएको हो ।
उच्च अदालत पाटनको २०७९ माघ २४ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा पाँच दिन कैद र १५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार भएका गुरुङलाई काठमाडौंको सामाखुसीबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दाहालले जानकारी दिए । गुरुङले सिटिजन्स बैंक लिमिटेड काठमाडौं सामाखुसीको आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।
पक्राउ परेका गुरुङलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय नख्खु ललितपुर पठाइएको प्रहरी नायब उपरीक्षक दाहालले जानकारी दिए ।