काठमाडौं,सुनचाँदी धितो शीर्षकमा बैंक तथा फाइनान्स कम्पनीहरुले आधा खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा सञ्चालनमा रहेका २२ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ५६ वटा बैंक तथा फाइनान्स कम्पनीहरुले सुनचाँदी धितोमा ५२ अर्ब ३० करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
बैंक तथा फाइनान्स कम्पनीहरुले सुनचाँदी धितोमा मात्र प्रवाह गरेको कर्जा गत आवको सोही अवधिमा सोही शीर्षकअन्तर्गत प्रवाह भएको कर्जा रकमभन्दा पाँच अर्ब १२ करोड ५० लाख रुपैयाँले बढी हो । राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा सुनचाँदी धितोमा कुल ४७ अर्ब १८ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । उक्त अवधिमा बैंकिङ क्षेत्रको कुल निक्षेप तथा कर्जा रकम क्रमशः ४९ खर्ब चार अर्ब ७२ करोड ६० लाख र ४६ खर्ब ७५ अर्ब ८१ करोड ७० लाख रुपैयाँ थियो । चालू आवको पछिल्लो छ महिनाको अवधिमा भने बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेप तथा कर्जा रकम क्रमशः ५३ खर्ब ६० अर्ब ६४ करोड ५० लाख र ४८ खर्ब ४० अर्ब १९ करोड ६० लाख रुपैयाँ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो अवधिमा वाणिज्य बैंकहरुले मात्र सुनचाँदी धितोमा कुल ४७ अर्ब २० करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिमा वाणिज्य बैंकहरुको सुनचाँदी धितोमा प्रवाह भएको कुल कर्जा रकमभन्दा चार अर्ब ६२ करोड ३० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरुको यस्तो कर्जा रकम ४२ अर्ब ५७ करोड ८० लाख रुपैयाँ थियो । उक्त अवधिमा वाणिज्य बैंकहरुको कुल निक्षेप तथा कर्जा रकम क्रमशः ४३ खर्ब २५ अर्ब ५८ करोड ४० लाख र ४१ खर्ब ५० अर्ब ३७ करोड २० लाख रुपैयाँ रहेको थियो । चालू आवको पछिल्लो अवधिमा भने वाणिज्य बैंकहरुको कुल निक्षेप तथा कर्जा रकम क्रमशः ४७ खर्ब १७ अर्ब ५० लाख रुपैयाँ एवं ४२ खर्ब ८४ अर्ब ७१ करोड ५० लाख रुपैयाँ रहेको थियो ।
विकास बैंकहरुले पनि चालू आवको पछिल्लो अवधिमा सुनचाँदी धितो शीर्षकमा कुल चार अर्ब आठ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आवको सोही अवधिमा भने विकास बैंकहरुको यस्तो कर्जा रकम तीन अर्ब ६६ करोड २० लाख रुपैयाँ रहेको थियो । उक्त अवधिमा विकास बैंकहरुले कुल चार खर्ब ८३ अर्ब ५२ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी चार खर्ब ३८ अर्ब ३७ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । चालू आवको पछिल्लो अवधिमा भने विकास बैंकहरुको यस्तो निक्षेप तथा कर्जा रकम क्रमशः पाँच खर्ब ३४ अर्ब ३७ करोड ८० लाख र चार खर्ब ६२ अर्ब ४४ करोड १० लाख रुपैयाँ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरुले भने पछिल्लो अवधिमा सुनचाँदी धितो शीर्षकमा कुल एक अर्ब एक करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आवको सोही अवधिमा भने फाइनान्सहरुको यस्तो कर्जा रकम ९४ करोड ३० लाख रुपैयाँ मात्र रहेको थियो । उक्त अवधिमा फाइनान्सहरुले ९५ अर्ब ६१ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी ८७ अर्ब सात करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । चालू आवको पछिल्लो अवधिमा भने फाइनान्स कम्पनीहरुको कुल निक्षेप तथा कर्जा रकम क्रमशः एक खर्ब नौ अर्ब २६ करोड २० लाख र ९३ अर्ब चार करोड १० लाख रुपैयाँ रहेको थियो ।