काठमाडौं,भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रक्रियाविपरित किर्ते काम गरेको ठहर भएपछि विशेष अदालतले पूर्वमन्त्रीद्वय टेकबहादुर गुरुङ र बद्री न्यौपानेलाई सजाय सुनाएको छ ।
अदालतले पूर्वमन्त्री बद्री न्यौपानेलाई साढे नौ वर्ष कैद सजाय सुनाएको छ भने, कांग्रेसबाट निर्वाचित भई निलम्बनमा रहेका सांसद टेकबहादुर गुरुङलाई एक करोड २१ लाख ८४ हजार रुपैयाँभन्दा बढी जरिवाना र उति नै रकम बिगो असुलउपर गर्ने फैसला सुनाएको छ।
बिशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गैरकानुनी रुपमा भ्रष्टचारमा संलग्न रहेको भनि पूर्वमन्त्रीद्वय टेकबहादुर गुरुङ र बद्री न्यौपानेसहित नौजनालाई अदालतले दोषी ठहर गरेको थियो ।
समाज कल्याण परिषद्का तत्कालीन अध्यक्ष तथा समाज कल्याणमन्त्री बद्री न्यौपानेको नेतृत्वमा समाजकल्याण परिषद् कार्य सञ्चालन समितिको बैठकले २०६९ भदौ २० गते विनाप्रतिस्पर्धा पूर्वश्रम राज्यमन्त्री टेकबहादुर गुरुङ सञ्चालक रहेको भृकुटीमण्डप फनपार्कलाई ६० रोपनी जग्गा प्रकृया नमिलाई भाडामा दिएर किर्ते गरेको थियो । गुरुङ नेपाली कांग्रेसका नेता र हालका निलम्बित सांसद रहेका छन् । उनीहरुले गैरकानुनि काम गरेर ३१ करोड ५२ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार गरेको पाईएको थियो ।
न्यौपाने नेतृत्वको टिममा रहेर उपाध्यक्ष प्रमोद मेहता,कोषध्यक्ष कञ्चबिहारी प्रसाद चौधरी,सदस्यहरु हरी न्यौपाने,मोहनराज शर्मा,मदनकुमारलाल कर्ण र सदस्यसचिव रवीन्द्रकुमार यादवसमेतको उपस्थितिमा मिलेमतो भई भ्रष्टचार भएको पत्र अख्तियारले अदालतमा पठाएको थियो ।
उक्त घोटालामा संलग्न रहेको रहेका १४ प्रतिवादीमध्ये पाँच जनाले भने सफाई पाएका छन् । सफाई पाउनेहरुमा समाज कल्याण परिषदका तत्कालीन कोषाध्यक्ष रत्नबहादुर गाहा,तत्कालीन निर्देशक मदनप्रसाद रिजाल उपनिर्देशक बलबहादुर स्वाँर, तत्कालीन कानुनी सल्लाहकारद्वय प्रेमसिंह धामी र जगदेव चौधरी रहेका छन् ।