काठमाडौं । चैतमा संघीयताविरूद्ध देशव्यापी अभियान चलाउने राष्ट्रिय जनमोर्चाले निर्णय गरेको छ। फागुन २७ देखि २८ गतेसम्म बुटवलमा चलेको राष्ट्रिय परिषदको प्रथम बैठकले संघीयताविरूद्ध अभियान चलाउने निर्णय गरेको हो।
चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिको ५ नम्बर बुँदामा भनिएको छ, ‘बैठकले संघपर्षका आगामी कार्यक्रम तय गरेको छ। संघीयताविरूद्ध यही चैत १० देखि १५ गतेसम्म देशव्यापी अभियान चलाउने निर्णय भएको छ।’
जनआन्दोलन दिवसका अवसरमा ‘गणतन्त्र रक्षा गरौं, प्रतिगमनका विरूद्ध संघर्ष गरौं’ भन्ने नारासहित कार्यक्रम गर्ने जनमोर्चाले निर्णय गरेको छ। नयाँ वर्ष वैशाख र जेठ महिनामा देशव्यापी रूपमा जिल्ला सम्मेलन र भेलाहरू गर्ने निर्णय भएको केसीले बताएका छन्।