काठमाडौँ । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यादवले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ लिएका हुन् । यादव यही चैत ३ मा उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो निर्वाचन आयोगका अनुसार उपराष्ट्रपतिको निर्वाचनमा कुल ५२ हजार ६२८ मतभारमध्ये यादवले ३० हजार ३२८ मतभार प्राप्त गरी विजयी भएका थिए ।
उपराष्ट्रपतिमा निर्वाचित भएसँगै यादवले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिइसकेका छन् ।