काठमाडौं, चैत १०
सरकारले आइतबार राति १२ बजेदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । कोभिड–१९को विश्वव्यापी सङ्क्रमणलाई ध्यानमा राखी सरकारले नौ दिनसम्म नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाइ उडान बन्द गरेको हो । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सरकारको निर्णयबमोजिम शनिबार जरुरी सूचना निकालेर नेपालमा उडान भर्ने सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको उडान अवतरण चैत ९ को राति २३ः५९ बजेदेखि चैत १८ सम्म सोही समयावधिका लागि स्थगन गरिएको जनाएको छ ।
प्राधिकरणले यस निर्णयबाट नेपालबाट अन्तर्राष्ट्रतर्फ जाने यात्रु, एयर एम्बुलेन्स, कार्गो उडान तथा अत्यावश्यक उडानमा असर नपर्ने स्पष्ट पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस र त्यसविरुद्ध नेपाल सरकारले चालेका कदम र सचेतनाबारे यही चैत ७ गते साँझ राष्ट्रका नाममा गरेको सम्बोधनमा चैत ९ देखि १८ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडान स्थगन हुने जनाएका थिए ।