काठमाडौ,लिला राई फाउण्डेशनले सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरुलाई सम्मान गरेको छ । फाउण्डेशनले मंगलबार आयोजना गरेको आफ्नो प्रथम वार्षिक साधारणसभामा सामाजिक क्षेत्रमा सक्रिय रहेका व्यक्तिहरुलाई सम्मान गरेको हो ।सम्मानित हुनेहरुमा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका निवर्तमान महाप्रवन्धक गोविन्द प्रसाद दाहाल, वढिगाड गाउँपालिका बाग्लुङकी अध्यक्ष गण्डकी थापा अधिकारी, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, ढोरपाटन नगर उपप्रमुख धन बहादुर कायत, हेल्पिङ ह्याण्डका प्रमुख डाक्टर देवेन्द्र गौतम लगायत रहेका छन् ।
उनीहरुलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र फाउण्डेशनकी अध्यक्ष लिलादेवी राई संयुक्त रुपमा सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले पर्याप्त बजेट भएमा डेढ वर्ष भित्रमा नेपालका सबै भागमा विद्युतिकरण गरिसकिने बताए ।
उनले उज्यालो प्रदेश नामक अभियान नै चलाएर विद्युतिकरणमा जोड दिएको जानकारी दिए । कर्णाली र सुदुरपश्चिम प्रदेशमा मात्रै सबै भुभागमा विद्युत पु¥याउन २५ अर्व खर्च हुने उनको भनाई थियो । प्राधिकरणले ऋण लिएर उक्त प्रदेशमा विद्युतिकरण गरिरहेको बताए । यस्तै प्राधिकरणले आफ्नो नाफाको रकम समेत विद्युतिकरणमा खर्च गरिरहेको उल्लेख गरे । मधेश प्रदेशका सबै भुभागमा विजुली पुगेको जानकारी दिँदै उनले गण्डकी प्रदेशमा पनि केही समयभित्रै विद्युतिकरण भईसक्ने बताए ।
यस्तै कार्यक्रममा उनले नेपालमा ५५ लाख उपभोक्ताले बिद्युत उपभोग गरिरहेकोमा २२ लाख उपभोक्ताले मासिक ३० रुपैयामा विद्युत उपभोग गरिरहेको बताए । यस्तै सिँचाईको लागी प्रतियुनिट दुई रुपैयाँ, पानीको र विद्युतिय सवारीको चार्जिङको लागी प्रतियुनिट ५ रुपैयाँ लिने गरेको पनि उनले जानकारी दिए । फाउण्डेशनले महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने गरेको संस्थाकी अध्यक्ष लिलादेवी राईले जानकारी दिईन् ।