काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, चितवनका पूर्व जिल्ला सभापति विकास कोइराला लगायत नेताको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ।
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आइतबार बसेको बैठकले २०७९अघि कारबाहीमा परेकालाई आममाफी दिने निर्णयबाट जोशी र कोइरालाको कारबाही फुकुवा भएको हो । उपनिर्वाचनलाई लक्षित गरेर तनहुँ १ मा दुईपटक स्वतन्त्र उम्मेदवार बनेका जोशी र चितवनको तत्कालीन क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवार बनेका कोइरालाको कारबाही फुकुवा भएको हो ।
२०७४ को निर्वाचनमा तनहुँ–१ मा तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध जोशीले बागी उम्मेदवारी दिएकाले कारबाही गरेको थियो ।यस्तै २०७० सालको संविधानसभा निर्वाचनमा चितवन–४ बाट तत्कालीन सभापति सुशील कोइरालाविरुद्ध बागी उम्मेदवारी दिएपछि विकास कोइरालामाथि कारबाही भएको थियो । २०७९ को निर्वाचनमा बागी उम्मेदवारी दिएकाहरूको हकमा उपनिर्वाचनमा गर्ने गतिविधि अनुसार निर्णय लिने कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले बताए ।