विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणमा सरकारले गरेको लकडाउनलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल नेपालले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । सहरी क्षेत्रहरुमा जनचेतना बढी हुने भए पनि ग्रामीण क्षेत्रमा त्यसको अवस्था केही हदसम्म कमजोर देखिँदा ग्रामीण क्षेत्रमा मानिसहरु छिटफुट रुपमा बाहिर निस्किने गरेका दृश्यहरु पनि देख्न सकिन्छ । जनचेतनाको अभावले देखिएका आवजावतका दृश्यलाई पूर्णरुपमा कम गर्न भित्री तथा ग्रामीण क्षेत्रहरुमा अवस्थित सशस्त्र प्रहरी बल नेपालका क्याम्पहरुले प्रभावकारी भूमिका खेलेका छन् । त्यस्तै, लकडाउनलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी सुरक्षा बेस, अमुवा रुपन्देहीले पनि २४ सै घण्टाको गस्ती व्यवस्थालाई तिब्रता दिएको छ । सियारी गाउँपालिका, शुद्धोधन गाउँपालिका, तिलोत्तमा नगरपालिका–१३, १४ नम्बर वडामा कार्यक्षेत्रको जिम्मेवारी पाएको सुरक्षा बेसमा सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र पौडेलले कमाण्ड सम्हालेका छन् । अधिकांश आफ्नै नेतृत्वमा गस्ती गर्ने पौडेलले छुट्टाछुट्टै टोली बनाएर गाडी र मोटरसाइकलमा पनि गस्ती गर्ने गरेको बताउँछन् । निरीक्षक पौडेलले भने, ‘अहिले ड्युटी त हामी २४ सै घण्टा गर्ने गरेका छौं । एउटै टोलीले २४ सै घण्टा सम्भव नहुने हुँदा टोली बनाएर क्रमबद्ध रुपमा निरन्तर खटिएका छौं । विशेष गरेर मधेशी समुदाय रहेको बस्तीहरुमा केही चुनौती नभएको होइन । भाषागत समस्याले राम्रोसँग सम्झाउनसक्ने वातावरण नभए पनि जेनतेन बाहिर निस्किनुहुँदैन ।’ भाइरसको संक्रमण हुन सक्ने भनेर कन्भिन्स गरी सम्झाएर ढोकाभित्रै पु¥याएर समेत प्रहरीहरु फर्किने गरेका छन् । मुख्य सडकहरुमा साइकल र मोटरसाइकलमा निस्किएकाहरुलाई फर्काएर घर बस्न आग्रह गरेको र सबैले मानेको पनि उनले जानकारी दिए । लकडाउनको पहिलो र दोस्रो दिन केही समस्या देखिए पनि अहिले लगभग बुझिसकेको अवस्था छ । स्थानीय सरकारमा जिम्मेवार पदका पदाधिकारीहरु अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतहरु पनि निरन्तर जनचेतना जगाउन खटिएकाले प्रहरीलाई पनि केही सहज भएको उनको भनाइ छ । सियारी गाउँपालिकामा रहेको जनता मावि र शुद्धोधन गाउँपालिकाको ज्ञानोदय दुधनाथ थारु बहुमुखी क्यापसमा बनाइएका दुईवटा क्वारेन्टाइनमा २२ जनालाई राखिएको जानकारी गराउँदै पौडेलले जनता मावि सियारीमा रहेका चार जनालाई कञ्चन गाउँपालिका र चार जनालाई लुम्बिनी क्वारेन्टाइनमा पठाएको बताए । सियारी गाउँपालिकामा रहेको क्वारेन्टाइनमा एक जना पनि नभएको बताउँदै पौडेलले ज्ञानोदय दुधनाथ थारु बहुमुखी क्याम्पसमा १४ जना रहेको बताए । उनले राज्यले गृहबासको लागि आग्रह गरिरहँदा अटेरी गरी बाहिर निस्किनेलाई कारबाहीको दायरामा ल्याउन स्थानीय सरकार तथा जनप्रतिनिधिहरुको पनि बढी सक्रियता हुनुपर्ने बताए । ग्रामीण क्षेत्रमा भएका सुरक्षा संयन्त्रहरुलाई सीमित स्रोत र साधनमा खुम्चिनुपर्ने बाध्यतात्मक अवस्थाले तीव्र रुपमा कार्यसम्पादनमा समस्या उत्पन्न हुने गरेको बताउँदै आवश्यक इन्धन, सवारीसाधन, मास्क उपलब्ध गराएर सहजताको वातावरण बनाउनुपर्ने बताए । पौडेलले समस्याको विकराल परिस्थितिमा राज्यद्वारा गरिएका निर्देशनहरुको पालना गर्नु जीवनरक्षाको प्रमुख आधार भएकोले लकडाउन अवधिभर सचेत भई घरभित्रै बस्न आग्रह गरे ।