काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लुम्बिनी, कर्णाली र सुदूपश्चिम प्रदेशका लागि छनोट भएका प्रशासन सेवाका नवनियुक्त ७४ जना कर्मचारीहरूलाई १४ दिने पूर्वसेवाकालीन तालिम काठमाडौंमा सञ्चालन गरेको छ । तालिमको उद्घाटन गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले कर्मचारीले दश–पाँचको जागिर मात्र नगरेर व्यावसायिक ढंगबाट काम गरेमा ग्राहकहरू सन्तुष्ट भई संस्थाको उत्पादकत्व वृद्धि हुने बताए । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारीले नवनियुक्त कर्मचारीहरूलाई कार्यस्थलमा जिम्मेवारी वहन गर्दा अपनाउनुपर्ने कर्तव्यबोध गराउँदै ग्राहकहरूको बैंकप्रतिको विश्वास बढ्ने गरी काम गर्नुपर्ने बताइन् ।
कार्यक्रममा उपकार्यकारी अधिकृत विमल डंगोलले स्वागतमन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा मानव संसाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त कर्मचारीहरूलाई बैंकको कर्मचारी सेवा विनियमावलीबमोजिम शपथ गराएका थिए । कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विनयरमण पौडेल, विभागीय प्रमुख पद्मा लक्ष्मी जिसी, मानव संसाधन विभागका उपप्रमुख हरिबाबु आचार्यलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो । बैंकको हाल सात प्रदेश, ७७ जिल्लाका सबै सदरमुकामसहित दुई सय ६६ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, दुई सय ६९ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ, क्यूआर कोड सेवा, पस अर्थात् प्वाइन्ट अफ सेल सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्यूआर टेलर (विनाचेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, परिष्कृतरूपको मोबाइल बैंकिङ तथा विनाइन्टरनेट चल्ने यूएसएसडी मोबाइल बैंकिङका सेवाहरू समेत सञ्चालनमा रहेको बैंकले जनाएको छ ।