काठमाडौं । सभामुख र प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्षनेताहरूबीच सर्वोच्च अदालतको लामो समेदेखि रिक्त प्रधानन्यायाधीश पदमा संवैधानिक परिषद्को बैठकबाट सिफारिस गर्ने सहमति भएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा भएको भेटवार्तामा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको छलफलमा सो सहमति भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए ।
सो पदमा नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्री दाहालले प्रस्ताव गर्दा एमाले अध्यक्ष ओलीले सहमति जनाएको नेता लेखकले बताए । परिषद्को सिफारिसबारे संसदीय सुनुवाइ भएपछि नियुक्ति हुनेछ । सोमबार बिहान बसेको बैठकमा प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाका लागि संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको उनले जानकारी दिए ।