काठमाडौं । बैंक, फाइनान्स तथा लघुवित्तका कर्मचारीहरुलाई कुटपिट गर्ने क्रम बढेसँगै त्रसित भइरहेको यस क्षेत्र भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघरस्थित एक सहकारीका प्रबन्धनिर्देशकलाई जुत्ताको माला लगाएसँगै थप तरंगित बनेको छ । गठ्ठाघरस्थित रामबहादुर मानन्धरको साढे तीनतले घरको दोस्रो तलामा रहेको १२ वर्षदेखि सञ्चालनमा रहेको कृषि विकास तथा ऋण सहकारी संस्थाले बचत फिर्ता नदिएको भन्दै संस्थाका प्रबन्धनिर्देशकलाई मंगलबार बचतकर्ताहरुले जुत्ताको माला लगाएका हुन् ।
सहकारीका प्रबन्धनिर्देशक समिर खत्रीलाई हातपात गरी कालोमोसो दली जुत्ताको माला लगाएसँगै यस कार्यमा संलग्न भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ७ धुन्चेपाखा बस्ने वर्ष ४४ को मुरारी नेपाल, ओखलढुंगा हर्कपुर घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने वर्ष ३६ की प्रेमकुमारी तामाङ, झापा कोहोरा गा.पा.०२ घर भई हाल गठ्ठाघर बस्ने वर्ष ३९ को कृष्ण संग्रौला, भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ०९ बोडे बस्ने वर्ष ६३ को गोरखबहादुर गिरी र ओखलढुंगा लिखु–०४ घर भई हाल कौशलटार बस्ने वर्ष ३४ की पवित्रा तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।