काठमाडौं । चालु आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकले ९ वटा वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ । बैंक सुपरिवेक्षण विभागले नियामकीय व्यवस्था उल्लंघन गर्ने बैंकलाई नगद जरीवाना सहित कारबाही गरेको नेपाल राष्ट्र बैंकले बताएको छ ।
केन्द्रीय बैंकले १० वटा वाणिज्य बैंकबाट एकमुस्ट १५ करोड ४७ लाख ८४ हजार १४० रुपैयाँ २६ पैसा नगद जरिवाना गरेको छ । जरिवानामा पर्नेहरुमा कृषि विकास बैक (६९ लाख ५८ हजार ८३१ रुपैयाँ ८९ पैसा), हिमालयन बैंक (७१ लाख ७२ हजार ९५९ रुपैयाँ ३६ पैसा), राष्ट्रिय वाणिज्य बैंक (१० लाख रुपैयाँ) रहेका छन् ।
यस्तै कुमारी बैंकसँग गाभिएको एनसीसी बैंकलाई दुई पटक कारबाही गरेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले तत्कालीन एनसीसी बैंकलाई एकै समूहलाई एक भन्दा बढी सहुलियतपूर्ण कर्जा दिएको, आवश्यकता अनुसार प्रोभिजन नगरेको र कर्जाको प्रिमियम दरमा परिवर्तन गरेकोले सचेत गराएको छ ।
एनसीसी बैंकसँगै मर्जर भएको कुमारी बैंकलाई पनि राष्ट्र बैंकले सचेत गराएको छ । बैंकले निक्षेपमा प्रकाशित भन्दा बढी ब्याज दिएको जोखिममा रहेको कर्जामा पर्याप्त प्रोभिजन नगरेको कर्जाको जोखिम भार कम गणना गरेको राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी तोकिएको कर्जा(निक्षेप अनुपात कायम नगर्ने नेपाल बैंक १८ लाख ५९ हजार ७५२ रुपैयाँ ३८ पैसा जरिवानामा परेको छ भने, नबिल बैंक ६ करोड ४६ ४५ हजार ३२ रुपैयाँ ७४ पैसा जरिवानामा परेको छ ।
हिमालयन बैंकले पनि ७१ लाख ७२ हजार ९५९ रुपैयाँ नगद जरीवान तिरेको छ । बैंकले पनि २०७९ भदौमा सीडी रेसियो तोकेअनुसार कायम गर्न नसक्दा राष्ट्र बैंकले कारबाही गरेको हो। केन्द्रीय बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (९ महिना) सम्ममा बैंकहरुमाथि गरेको अध्ययन पश्चात् यस्तो कारबाही गरेको हो ।