काठमाण्डौं,चैत २०
बैंक तथा फाइनान्स कम्पनीहरुले १२ खर्ब रुपैयाँभन्दा बढीको अन्तर बैंक कारोबार गरेका छन् । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो सात महिनामा वाणिज्य बैंकहरुले मात्र १० खर्ब ५९ अर्ब ९ करोड र अन्य वित्तीय संस्था (वाणिज्य बैंक बाहेक) बीच एक खर्ब अर्ब ३७ करोडको अन्तर–बैंक कारोबार भएको हो । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंक र अन्य वित्तीय संस्था (वाणिज्य बैंकबीच बाहेक)ले क्रमशः आठ खर्ब ४२ अर्ब १० करोड र एक खर्ब २६ अर्ब चार करोडको अन्तर बैंक कारोबार गरेका थिए । राष्ट्र बैंकका अनुुसार २०७५ माघमा ९१–दिने ट्रेजरी बिल्सको भारित औसत ब्याजदर तीन दशमलव ४४ प्रतिशत रहेकोमा २०७६ माघमा तीन दशमलव ९१ प्रतिशत कायम भएको छ ।
वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७५ माघको पाँच दशमलव ७९ प्रतिशतको तुलनामा २०७६ माघमा चार दशमलव ५९ प्रतिशत कायम भएको छ ।वाणिज्य बैंकहरुको औसत आधार दर २०७५ माघको नौ दशमलव ६९ प्रतिशतको तुलनामा २०७६ माघमा नौ दशमलव ४५ प्रतिशत कायम भएको छ । २०७६ माघमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर छ दशमलव ७८ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ११ दशमलव ९४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यी दरहरु क्रमशः छ दशमलव ६७ प्रतिशत र १२ दशमलव ३४ प्रतिशत रहेका थिए ।