काठमाडौं । सडकमा अव्यस्थित तार हटाउनका लागि सम्बन्धित कार्यालय तथा संघसंस्थालाई काठमाडौँ महानगरपालिकाले १५ दिनको समय दिएको छ ।
मंगलबार महानगरपालिकाले एक सूचना प्रकाशित गरी सुन्दरतामा कमी आएको, सार्वजनिक आवागमनमा असर परेको र आगलागीलगायतको जोखिम सिर्जना हुनसक्ने भन्दै अनावश्यक तार हटाउन निर्देशन दिएको हो ।
बिजुली, टेलिफोन, इन्टरनेट तथा केवल सेवा प्रदायक निकाय तथा संघसंस्थाले पोलमा गुजुल्टो बनाएर राखेका, चुडिँएर तथा लत्रिएर सडकमा छरिएका तार आफैँ हटाउन र आवश्यक तारलाई सङ्केत चिन्ह लगाउन महानगरले निर्देशन दिएको छ । महानगरले उक्त अवधिमा तार नहटाए महानगर आफैले हटाउने समेत उल्लेख गरेको छ ।
महानगरपालिकाले विभिन्न समयमा सरोकारवाला निकाय तथा अधिकारीसँग बैठक बसेर व्यवस्थापनका लागि अनुरोध गरिसकेको जनाएको छ । तर निर्णय कार्यान्वयनका लागि पटक–पटक पत्र पठाएर ताकेता गर्दा पनि काम नभएको महानगरपालिकाको भनाइ छ ।