काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिनेश थकाली नियुक्त भएका छन् । बैंक सञ्चालक समितिकाको वैशाख १३ गते बसेको बैठकले थकालीलाई जेठ १४ गतेदेखि लागू हुनेगरी चार वर्षका लागि नियुक्त गरेको हो ।
सांग्रिला डेभलपमेन्ट बैंकको म्यानेजमेन्ट टे«नी हुँदै कामु प्रमुख कार्यकारी अधिकृत भइसकेका थकाली हाल प्रभु बैंकको प्रमुख बिजनेस अधिकृतको रूपमा कार्यरत थिए ।
थकाली प्रभु बैंकको सहायक कम्पनी प्रभु क्यापिटलको प्रबन्ध निर्देशकमा नियुक्त भई कुशलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिसकेका छन् । थकालीसँग करिब डेढ दशकको बैंकिङ अनुभव छ ।
चार्टर्ड एकाउन्टेन्ट थकालीले लण्डन स्कुल अफ इकोनोमिक्स लण्डन, विश्व बैंक वासिंगटन, एआईटी थाइल्यान्ड, फिच्ट लर्निङ सिंगापुरलगायतका प्रतिष्ठित संस्थाहरूबाट बैंकिङ तथा व्यवस्थापनसम्बन्धी विभिन्न विधामा अध्ययन तथा तालिम लिनुका साथै त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् । उनी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका पूर्वमहासचिव समेत हुन् ।