जलेश्वर । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकाका एक पूर्ववडाअध्यक्ष र वडासचिवले नेपाली नागरिकताको प्रमाणपत्र किर्ते गरी सामाजिक सुरक्षा वितरण गरेको रहस्य खुलेको छ । २०७४ मा निर्वाचित सम्सी गाउँपालिका–२ पर्सादेवाडका वडाध्यक्ष मोहम्म्द मकसुद र तत्कालीन वडासचिव मनोहर मण्डलले नेपाली नागरिकताको प्रमाणपत्रमा केरमेट गरी २२ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको तथ्य बाहिर आएको हो ।
उनीहरूको मिलेमतोमा सरकारी कागज र छाप किर्ते गरी एउटै व्यक्तिको नाममा दुईवटा नागरिकता नम्बर प्रचलनमा ल्याएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ । साथै एउटै व्यक्तिको नागरिकता नम्बरलाई केरमेट गरी फरक–फरक नाम र जन्ममिति राखी सामाजिक सुरक्षा भत्ता खाने उमेर बढाएको पनि पाइएको छ । उनीहरूले वितरण गरेको सामाजिक सुरक्षा भत्ताबारे छानबिन गर्न जिल्ला प्रशासन कार्यालयमा उजुरी गरिएपछि सो कुरा बाहिरिएको हो । वडासचिव मण्डल र वडाध्यक्ष आलमको जालसाजीका कारण अकिला खातुन, असरुल सोखिन, तारा खातुन, मोजिबुल मोमिन र मैनदिन शेषले ४४ हजार रूपैयाँ, असगरी खातुन, नजिरा खातुन, माझी नदाफ, वरिदा खातुन, शेष लाल बाबु, हासिम मोमिन, शेख सफी अहमद र शैरा खातुनले ९६ हजार रूपैयाँ बुझेको पाइएको छ । यस्तै इसराइल शेषले ३२ हजार रूपैयाँ, विल्टुन खातुनले २४ हजार रूपैयाँ, रहिमा खातुनले ९२ हजार रूपैयाँ, समुदा खातुनले ७२ हजार रूपैयाँ, जरिना खातुनले एक लाख २८ हजार रूपैयाँ, डुमैरा खातुनले ८७ हजार रूपैयाँ, शेष सदिकले ४८ हजार रूपैयाँ, हसिना सोखिनले ९९ हजार नौ सय रूपैयाँ र समिना खातुनले ८४ हजार रूपैयाँ बुझेकाले उनीहरूबाट पनि उक्त रकम असुल गरिने वडा कार्यालयले जनाएको छ ।
तत्कालीन वडा सचिव मण्डल र वडाध्यक्ष आलममाथि कारबाहीका साथै उनीहरूबाट बिगोस्वरूप १६ लाख १४ हजार नौ सय रूपैयाँ असुल गर्नु पर्ने देखिएकाले कारबाहीका लागि पत्राचार भइरहेको वर्तमान वडाअध्यक्ष शेष अञ्जारेले जानकारी दिए । तर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्रले उजुरीमाथि छानबिनका लागि न्यायिक समितिमा पठाइएको र समितिको प्रतिवेदनअनुसार व्यक्तिमाथि असुल गरिनेमा जोड दिए ।