काठमाडौं । अहिले बैंक तथा वित्तीय संस्थाको तरलतामा सुधार भएर ब्याजदर घट्ने संकेत देखिए पनि ऋणको माग बढ्नसकेको छैन । गत साउनयता फागुन मसान्तसम्म बैंकिङ प्रणालीमा दुई खर्ब ८० अर्ब ५७ करोड रुपैयाँ निक्षेप बढेको देखिन्छ । यो अवधिमा बैंक तथा वित्तीय संस्थाले कुल एक खर्ब २८ अर्ब १८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
जब कि गत आर्थिक वर्षको नौ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एक खर्ब ९२ अर्ब १२ करोड रुपैयाँ बढ्दा कर्जा प्रवाह पाँच खर्ब २२ अर्ब ४९ करोड रुपैयाँ भएको थियो । यसरी गत आर्थिक वर्षमा निक्षेपभन्दा तेब्बरसम्म वृद्धि भएको ऋण लगानी यसपटक निक्षेपभन्दा आधा कम भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४ दशमलव छ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५ दशमलव चार प्रतिशत रहेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले १८ लाख ५४ हजार पाँच सय ९८ खातामार्फत ४८ खर्ब ५१ अर्ब ३३ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको फागुन मसान्तमा बैंकहरुले १८ लाख ३७ हजार ५० खातामार्फत ४७ खर्ब १७ अर्ब एक करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
चालू आर्थिक वर्षको आठ महिनामा वाणिज्य बैंकहरुले मात्रै १५ लाख २८ हजार एक सय ७२ खातामार्फत ४३ खर्ब एक अर्ब ९७ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
राष्ट्र बैंकको तथ्याङ्कअनुसार विकास बैंकहरुमा कर्जा खाताको संख्या घटेको छ । चालू आर्थिक वर्षको आठ महिनामा विकास बैंकहरुले दुई लाख ८४ हजार सात सय ६४ कर्जा खाताबाट चार खर्ब ५७ अर्ब २६ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गएको आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरुले तीन लाख आठ हजार तीन सय ३७ कर्जा खातामार्फत कुल चार खर्ब ४३ अर्ब ३९ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
फाइनान्नस कम्पनीहरुले चालू आर्थिक वर्षको आठ महिनामा ४१ हजार छ सय ६२ खातामार्फत ९२ अर्ब ६७ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गएको आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरुले ४० हजार चार सय २० खातामार्फत ८९ अर्ब ५६ करोड ३० लाख रुपैयाँ ऋण प्रवाह गरेका थिए ।
यो अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह दुईृ दशमलव आठ प्रतिशतले, विकास बैंकहरुको तीन दशमलव एक प्रतिशतले र फाइनान्स कम्पनीहरुको शून्य दशमलव सात प्रतिशतले बढेको छ ।
ऋणको ब्याजदर उच्च विन्दुमा पुगेपछि बजारमा ऋणको माग घटेको बैंकरहरुले बताएका छन् । चालू आर्थिक वर्षमा ऋणको ब्याजदर १५ प्रतिशतभन्दा माथि पुगेको छ । महँगो ब्याजदरमा ऋण लिएर व्यवसाय गर्दा प्रतिफल न्यून हुने र घरजग्गा कारोबार गर्दा महँगो पर्ने भएपछि समष्टिगत ऋण खुम्चिनु स्वाभाविक हो । यसबाहेक आर्थिक क्रियाकलाप कम हुँदा अर्थतन्त्रको आन्तरिक क्षेत्र दबाबमा छ । यस्तो बेला ऋण लिएर लगानी गर्नेहरुको मनोबल कमजोर हुँदा ऋणको माग घटेको देखिन्छ ।
आयातका लागि ऋण गए पनि आन्तरिक उत्पादनको क्षेत्रमा लगानी गर्ने गरी माग नबढेको बैंकरहरु बताउँछन् । कित्ताकाट नहुँदा घरजग्गाको कारोबार पनि सुस्ताएको थियो । महँगो ब्याजदरमा घरजग्गाका लागि ऋण लिँदा पछि किस्ता तिर्न मुस्किल हुने भएकाले यस क्षेत्रमा पनि माग कम देखिएको छ । महँगा गाडीको आयात रोकिएकाले पनि यस आर्थिक वर्षमा गाडी खरिदका लागि कम ऋण गएको देखिन्छ । सेयरबजार पनि सुस्ताएकोले कर्जा नगएको बैंकरहरु बताउँछन् ।
सरकारले विकास खर्च गर्न सकिरहेको छैन । यसको असर निर्माण क्षेत्रमा परेको छ । समयमै भुक्तानी पाउने निश्चित नभएपछि निर्माण क्षेत्रका लागि पनि कम ऋण प्रवाह भएको छ । बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा पाँच दशमलव नौ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा सात दशमलव तीन प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा पाँच दशमलव नौ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १० दशमलव एक प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको तीन प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा पाँच दशमलव नौ प्रतिशत र उपभोग्य क्षेत्रतर्फको कर्जा एक दशमलव छ प्रतिशतले बढेको छ ।