काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्केका नेपालीले दुईवटा मोबाइल ल्याउन पाउने निर्णय गरेको छ । अर्थ मन्त्रालयले गरेको प्रस्तावमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । यसअघि एउटा मात्र मोबाइल भन्सार प्रक्रिया पूरा गरेर ल्याउन पाउने सुविधा थियो ।
श्रम स्वीकृत लिई वैदेशिक रोजगारीमा गई कम्तीमा लगातार छ महिना काम गरी फर्केका नेपाली नागरिकले उक्त सुविधा पाउने सरकारले जनाएको छ । २०७७ साल जेठ १५ गते प्रकाशित सूचनामा भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा (३) अनुसार डेस्कटप कम्प्युटर वा ल्यापटप, ट्याप, घडी, क्यामरा, भिडियो क्यामरा र प्रयोग गरिरहेको सेलुलर मोबाइल फोन एक÷एक थान ल्याउन पाउने व्यवस्था थियो । तर मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट वैदेशिक रोजगरीमा छ महिना काम गरेर फर्किएकालाई थप एक थान मोबाइल फोन ल्याउन पाउने सुविधा सरकारले दिएको हो ।