काठमाडौं । सरकारले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया तत्कालको लागि रोक्न निर्देशन दिएलगत्तै धितोपत्र दलालहरूको छाता संगठन स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (एसवान)ले शुक्रबार विज्ञप्ति जारी गरेर सरकारको कदमको खुलेर प्रशंंसा ग-यो । एसवानले विज्ञप्तिमार्फत नयाँ स्टक एक्सचेन्जसँगै नयाँ ब्रोकर कम्पनीको लाइसेन्स वितरण रोक्न पनि माग ग-यो । उसले ब्रोकरको लाइसेन्स दिलाउन ठूलो आर्थिक चलखेल भएकाले रोक्नुपर्ने तर्क गरेको छ ।
एसवानको विज्ञप्तिपछि नयाँ स्टक ब्रोकर सञ्चालनका लागि आसयपत्र पाएका कम्पनीहरू आक्रोशित बनेका छन् । उनीहरूले आइतबार विज्ञप्तिमार्फत नै पुराना स्टक ब्रोकर कम्पनीहरूलाई आर्थिक चलखेल भएको पुष्टि गर्न चेतावनी नै दिएका छन् ।
नयाँ कम्पनीहरूले पुराना स्टक ब्रोकरहरूले संकुचित मानसिकताका साथ सिन्डिकेट लागू गर्न खोजेको आरोप लगाएका छन् ।
नेपाल धितोपत्र बोर्डले नयाँ धितोपत्र दलाल तथा व्यापारीका लागि आवेदन माग गरेपछि निजी क्षेत्रका साथै विभिन्न बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित ४३ वटा नयाँ धितोपत्र दलाल तथा व्यापारी कम्पनीले पूर्वस्वीकृति अर्थात् आसयपत्र पाइसकेका छन् । बोर्डको यो कार्यले पुँजीबजारको विकास तथा विस्तारमा नयाँ कोशेढुंगा कायम हुने अपेक्षा गरिएको छ ।
नयाँ स्टक ब्रोकर कम्पनीहरूले नियामक निकायबाट चालिएको सकारात्मक विकासलाई नकारात्मक ढंगबाट व्याख्या गर्दैै बजारमा सिन्डिकेट एवं एकाधिकर कायम गर्ने उद्देश्यसहितको संकुचित मानसिकताले काम गरेको आरोप लगाए । नयाँ ब्रोकर एसोसिएसनको नाममा निष्काशन गरिएको विज्ञप्तिमा पुरानाले भ्रामक, कपोकल्पित र आधारहीन आरोप लगाएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘पुराना ब्रोकरहरूबाट ५६ लाख लगानीकर्ताले गरेको अपेक्षामाथि तुषारापात भएको भन्दै उक्त विज्ञप्तिले स्टक ब्रोकर एसोसिएसन अफ नेपालले स्वायत्त निकाय नेपाल धितोपत्र बोर्ड, तत्कालीन मन्त्रिपरिषद् तथा सर्वोच्च अदालतमाथि समेत प्रत्यक्ष वा अप्रतक्ष्यरूपमा आर्थिक चलखेल गरेको आरोप लगाइको छ, यो निराधार हो ।’ उनीहरूले भर्खर पूर्वस्वीकृति लिई सञ्चालनको तरखरमा रहेका ४३ वटा नयाँ ब्रोकर कम्पनीहरू आर्थिक चलेखलमा संलग्न रहेको आरोप लगाउनु कपोकल्पित र निराधार भएको विज्ञप्तिमा उल्लेख छ ।
नयाँ स्टक ब्रोकरको लाइसेन्स लिन एक रुपैयाँ खर्च गर्न नपरेको उनीहरूको दाबी छ । उनीहरूले स्टक ब्रोकर एसोसिएसन अफ नेपाललाई आरोप पुष्टि गर्न चुनौती दिएका छन् । आगामी दिनमा पनि आधारहीन, कपोकल्पित आरोप लगाइए कानुनी उपचारमा जाने नयाँ ब्रोकरहरूको चेनावनी छ ।
नेपालमा अनलाइन कारोबार प्रणालीको सुरु हुनुअघि करिब तीन लाखको संख्यामा रहेको डिम्याट खाता हालको अवस्थामा बढेर ५६ लाख नाघेको छ । साथै विसं २०६८ सालतिर दोस्रो बजारमा लगानीकर्ताहरूको संख्या २५ हजार र दलालको संख्या ५० रहेकोमा हाल दोस्रो बजारमा कारोबार गर्ने ग्राहकको संख्या बढेर २० लाख कटिसकेको छ भने दलालको संख्या ५० वटामा मात्र सीमित रहेको छ, यो अवस्थामा नयाँलाई लाइसेन्स दिँदा कसरी पुँजीबजारको विकासमा अवरोध आउँछ ?, कसरी आर्थिक चलेखल हुन्छ ? नयाँ ब्रोकर एसोसिएसनले भनेको छ ।
आर्थिक वर्ष २०७४/७५ मा वार्षिक १२ अर्बको सेयर कारोबार हुँदा ५० ब्रोकर कम्पनी रहेको र अहिले वार्षिक १२ खर्ब रुपैयाँको कारोबार हुँदा पनि त्यति नै संख्यामा ब्रोकर कम्पनी रहन नहुने उनीहरूको जिकिर छ ।
नेपाल स्टक एक्सचेन्जले यसअघि दुई पटक गरेको अध्ययनमा स्टक ब्रोकर कम्पनीहरूको संख्या बढाउनुपर्ने निष्कर्ष निकालेको थियो । २०७७ मा सम्पन्न अध्ययनले एक सय ३० वटा र २०७९ जेठमा गरेको अध्ययनले एक सय ७८ वटासम्म स्टक ब्रोकर थप गर्न सकिने प्रतिवेदन सार्वजनिक गरेको थियो ।