काठमाण्डौं,चैत २७
बजारमा खाना पकाउने ग्यास पर्याप्त भएपछि नेपाल आयल निगमले अब भरी सिलिण्डर बिक्री गर्न निर्देशन दिएको छ । यसअघि निगमको निर्देशनमा ग्यास व्यवसायीहरुले सात दशमलव एक किलो तौलको ग्यास भरेर बजारमा लगेका थिए । बजारम ग्यासको बिक्री हुन छाडेपछि निगमले ग्यास व्यवसायीहरुलाई बिहीबारदेखि नै भरी सिलिण्डर भर्न भनेको छ ।
बजारमा भने आइतबारदेखि नै भरी अर्थात् १४ दशमलव दुई केजीकै सिलिण्डर बिक्री हुनेछ । लकडाउनको कारण होटल व्यवसाय पूर्णतः बन्द छ । मानिसहरु घरभित्रै थुनिएको कारण घरायसी प्रयोजनका लागि मात्र ग्यास बिक्री भएको छ । आधा सिलिण्डर ग्यास पनि उपभोक्ताहरुले घरघरमा जम्मा गरेपछि ग्यास बिक्रेताहरु व्यापार नगरी बस्न बाध्य छन् ।
लकडाउनको सुरुमा ग्यास अभाव देखिए पनि निरन्तर रुपमा भारतबाट आयात भइरहेको, होटल तथा अन्य व्यवसाय बन्द भएको र विद्यालय तथा कलेज बन्द भएको कारण ग्यासको खपत कम भएको छ । त्यही बेला सरकारले आधा सिलिण्डर मात्र दिएपछि सबैले घरघरमा ग्यास थुपारेका छन् । त्यही भएर ग्यास बिक्री नै हुन छाडेको हो ।