काठमाडौं । सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८० प्रतिवेदनअनुरूप गत आर्थिक वर्षमा उच्च नाफा आर्जन गर्ने सार्वजनिक संस्थनमा नेपाल विद्युत् प्राधिकरण रहेको छ भने उच्च नोक्सानीमा भने नेपाल आयल निगम रहेको छ । उच्च नाफा गर्ने पाँचवटा संस्थानहरूमा भने क्रमशः विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नागरिक लगानी कोष र निक्षेप तथा कर्जा सुरक्षण कोष रहेका छन् भने ती संस्थानहरूको खुद नफा क्रमशः १३ अर्ब ३७ करोड रुपैयाँ, आठ अर्ब ४७ करोड रुपैयाँ, चार अर्ब २९ करोड रुपैयाँ, तीन अर्ब १० करोड रुपैयाँ रहेको छ । पाँचवटा संस्थानको कुल खुद नाफा ३२ अर्ब २५ करोड ७४ लाख रुपैयाँ र सेयर लगानी दुई खर्ब १७ अर्ब ४५ करोड ३६ लाख रुपैयाँ रहेको छ ।
सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८० प्रतिवेदनअनुरूप गत आर्थिक वर्षमा उच्च नोक्सानीको पहिलो स्थानमा आयल निगम रहेको छ । उच्च नोक्सानीमा रहेका पाँच सार्वजनिक संस्थनाहरूमा क्रमशः आयल निमग, नेपाल वायुसेवा निगम, खानेपानी संस्थान, दुग्ध विकास संस्थान र नेपाल औषधि लिमिटेड रहेका छन् भने तीन संस्थानहरूको खुद नोक्सान क्रमश : ३८ अर्ब १७ करोड रुपैयाँ, एक अर्ब ७० करोड रुपैयाँ, ३९ करोड ५४ लाख रुपैयाँ, ३७ करोड पाँच लाख रुपैयाँ र १३ करोड ८७ लाख रुपैयाँ रहेको छ । पाँचवटा संस्थानहरूको कुल खुद नोक्सानी ४० अर्ब ७८ करोड ५४ लाख रुपैयाँ र सेयर लगानी ११ अर्ब ९५ करोड १७ लाख रुपैयाँ रहेको छ । प्रतिवेदनअनुरूप वित्तीय क्षेत्रको संस्थान र जनोपयोगी क्षेत्रका अधिकांश संस्थानको समग्र वित्तीय स्थिति सन्तोषजनक रहे पनि अन्य क्षेत्रका संस्थानको सञ्चिति नोक्सान निरन्तररूपमा बढिरहेको बताइएको छ ।
सरकारको सेयर ऋण लगानी, संस्थाको कार्यसम्पादन स्तर, प्राप्त प्रतिफल र कोषको व्यवस्था नगरिएको अनिवार्य दायित्वको रकम समेत विश्लेषण गर्दा यस क्षेत्रमा तत्काल सुधार गर्न जरुरी र त्यसो नभए नोक्सानी व्यहोर्नुपर्ने बाध्यताबाट सरकार पछि हट्न नसक्ने बताइएको छ । आयल निगमले इन्धन तथा खाना पकाउने ग्याँस बिक्री–वितरण गर्दै आए पनि उच्च नोक्सानी देखिनुले यसको तत्काल सुधार गर्नुपर्ने देखिन्छ । आयल निगमभित्र आर्थिक पारदर्शीता हुनुपर्ने स्वयं सरकारी प्रतिवेदनले औँल्याउदा समेत त्यसो हुन नसक्दा घाटामा गएको सरोकारवालाहरू बताउँछन् ।