काठमाडौं । मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा सिफारिस भएका कामु प्रधान न्यायाधीश हरिकृष्ण कार्कीविरूद्ध उजुरी दिन आह्वान गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको संसदीय सुनुवाइ समितिले कायममुकायम प्रधान न्यायाधीश कार्कीविरुद्ध उजुरीका लागि १० दिनको समय दिइएको छ । समितिका ज्येष्ठ सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिशमशेर राणाको अध्यक्षमा मंगलबार सिंहदरबारमा बसेको बैठकले उजुरी दिन आह्वान गर्ने निर्णय गरेको हो । कार्कीमाथि लिखित रूपमा उजुरी दर्ता वा इमेलबाट पनि पठाउन सकिने जनाइएको छ ।
गत वैशाख २५ गते संवैधानिक परिषदले उनलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । प्रधानन्यायाधीशको पद करिब १५ महिनादेखि रिक्त छ । बैठकमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको पनि उपस्थिति थियो । बैठकले सुनुवाइ समिति कार्यविधिसमेत पारित गरेको छ ।