काठमाडौं । काठमाडौंको टोखा ग्रिनल्यान्डमा कृषक ग्रुप प्रालिले एक करोड लगानीमा मिनी हाइपर मार्ट सञ्चालनमा ल्याएको छ । नेपाली कृषकको उत्पादनलाई बजारीकरण गर्ने मुख्य उद्देश्यका साथ सञ्चालनमा आएको उक्त मार्टको टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले शुभारम्भ गरे ।
‘उत्पादनदेखि उपभोक्तासम्म’ भन्ने मूल नारालाई अगाडि बढाएको उक्त मार्टले किसानले उत्पादन गरेका वस्तुलाई बजारसम्म पु-याउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपक न्यौपानेले जानकारी दिए । उक्त मार्टमा सिन्धुली, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, काठमाडौं, भक्तपुर, काभ्रेपलाञ्चोक र ललितपुरमा उत्पादित मासुजन्य तथा अण्डा, फलफूल तथा तरकारीजन्य, अर्गानिक खाद्य सामान, दूध तथा डेरी बेकरीजन्य, जीवित कुखुरा, खाजा स्टेसन, बबलटी, आइसक्रिम, पपकन, तथा चिप्स, ग्यास तथा जारको पानी, फ्रेस मिट, सिफुड, फ्रोजन अर्गानिक खाद्यान्न सामग्री बिक्रीका लागि राखिएका छन् । कृषकलाई बजारसम्म सजिलै पहुँच विस्तार गर्नका लागि मार्ट सञ्चालन गरिएको सिईओ न्यौपानेले बताए । मिनी हाइपर मार्ट प्रालिले सर्वसाधारणको सुविधालाई ध्यानमा राखी सार्वजनिक शौचालय पनि सञ्चालन गरेको छ ।