काठमाडौं । आन्दोलनको जोडबलका आधारमा अघिल्लो दिन उच्च अंकले उकालो लागेर सेयर बजार साताको दोस्रो दिन आज सोमबार ओरालो लागेको छ । पुँजीगत लाभकरको बिषयमा भएको आन्दोलन र अर्थमन्त्रालयसंग भएको सहमती संगै अघिल्लो दिन सेयर बजार ५३ अंकले उकालो लागेको थियो । तर उक्त बृद्धि एक दिन पनि टिक्न सकेन । आज सोमबार बजार परिसुचक १७ दशमलव ३८ अंकले ओरालो लागेर १९ सय एक दशमलव ९९ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आज दुई दशमलव ८८ अंकले ओरालो लागेर तीन सय ६२ दशमलव २२ बिन्दुमा खुम्चिएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ७७ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ३६ हजार पाँच सय ६८ पटकको कारोबारमा ५६ लाख २० हजार तीन सय ८१ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब ९७ करोड ३४ लाख ९१ हजार एक सय सात रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा कारोबार भएका कुल उपसमुहहरु मध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार पुरै रातो भएको छ ।