काठमाडौँ । सोमबार ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा गर्न प्रहरी प्रधान कार्यालयले सिफारिस गरेको छ । गम्भीर प्रकृतिको अपराधको सफल अनुसन्धान गरेका प्रहरी निरीक्षकहरू नै बढुवा सिफारिसमा छुटेपछि एक सय ४४ जनाबाट ४६ जनालाई मापदण्डभित्र पर्ने भन्दै बढुवा सिफारिस गर्दा अहिले आकांक्षीहरुमा व्यापक असन्तुष्टि देखिएको छ ।
प्रहरी निरीक्षकबाट डीएसपीमा बढुवा गर्दा मेरिट लिस्टलाई ध्यान नदिइने गरेको प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी कुबेर कडायतले बताए । उनले भने, ‘१४४ जनाबाट जम्मा ४६ जना बढुवा सिफारिस गर्नुपर्ने थियो, सिट थोरै र आकाङ्क्षी धेरै हुँदा असन्तुष्टिका आवाज आउँछ । यसलाई सामान्य ढङ्गले लिनुपर्छ ।’ उनले कार्यसम्पादन मूल्याङ्कनकै आधारमा बढुवा सिफारिस गरिएको बताए ।