काठमाडौं । अस्पतालको बिलिङ शाखामा काम गर्ने तीन जना कर्मचारीले ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताललाई ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।
उनीहरुले विरामीको बेड चार्ज, डाक्टर चार्ज र नर्सिङ चार्ज कम लिएको देखाएर अस्पतालमा बिलिङका लागि प्रयोग हुँदै आएको शुक्र नामको एचएमआईएस सफ्ट्वेयरको दुरुपयोग गरी आपराधिक विश्वासघात गरेको आरोपमा पक्राउ परेका हुन् ।
अस्पतालले दिएको जाहेरीका आधारमा घटनामा संलग्न एक्जुकेटिभ आईपी बिलिङका रुपमा कार्यरत ३४ वर्षीय राघव सापकोटा, ललितपुरका आशिष अर्याल र गोदावरीका २९ वर्षीय सनम देशार रहेको जिल्ला प्रहरी परिसर, लतिलपुरका एसपी नवराज कार्कीले बताए ।
उनीहरुलाई आपराधिक विश्वासघात सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, ललितपुरबाट ५ दिन म्याद थप गरिएको प्रहरीले जनाएको छ ।