काठमाडौं,नेपाल राष्ट्र बैंकले अनधिकृत व्यक्तिलाई आफ्नो ओटीपी पासवर्ड नदिन आग्रह गरेको छ । विद्युतीय भुक्तानीसम्बन्धी कारोबारमा जोखिम बढेको भन्दै राष्ट्र बैंकले बिहीबार सूचना जारी गरेर यस्तो आग्रह गरेको हो ।राष्ट्र बैंकले विगत केही समयदेखि अनधिकृत व्यक्तिहरूले बैंक तथा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकको कर्मचारी भएको भनी ग्राहकहरूलाई ग्राहक पहिचान (केवाईसी) सम्बन्धी विवरण अद्यावधिक गर्न सम्बन्धित ग्राहकबाट वान टाइम पासवर्ड (ओटीपी), निश्चित अंकको नम्बर, नम्बर उल्लेख भएको म्यासेजजस्ता विवरण माग्ने क्रम बढेको जनाएको छ ।
यसरी अनधिकृत व्यक्तिले ग्राहकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस, वालेटजस्ता विद्युतीय भुक्तानीको साधनको पासवर्ड रिसेट गरी ग्राहकको खातामा आफ्नो पहुँच पु¥याई रकम निकाल्ने वा ट्रान्सफर गर्ने प्रवृत्ति बढेको जनाएको छ । यही कारण अनधिकृत व्यक्तिलाई आफ्नो डिजिटल कारोबासम्बन्धी कुनै पनि किसिमको गोप्य विवरण नदिन आग्रह गरेको हो ।
राष्ट्र बैंकले यस्तो ठगीबाट जोगिन अपरिचित व्यक्तिले माग गरेको कुनै पनि सूचनाहरू उपलब्ध नगर्न, नगराउन पनि सचेत गराएको छ । कसैले यसप्रकारका घटना घटाएमा वा घटाउनको लागि उत्प्रेरित गरेमा सोको जानकारी तत्कालै सम्बन्धित सेवाप्रदायक संस्था तथा राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण पोर्टलमा दर्ता गराउन आग्रह गरेको छ । साथै भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमतिपत्र प्राप्त संस्थाहरूले यस्ता अवाञ्छित गतिविधिहरूलाई सूक्ष्मरूपमा निगरानी गर्न समेत सचेत गराएको छ ।