काठमाडौं, आर्थिक अभावसँगै श्रीराम सुगर मिल लिलामीमा गएको छ । हरेक वर्ष करोडौँ रुपैयाँको नोक्सानी व्यहोर्नु परिरहेको र उद्योगमा कार्यरत श्रमिकलाई न्यूनतम तलब दिन समेत रकम अभाव भएपछि २०७७ साउन ११ गतेदेखि उद्योग स्थायीरूपमा बन्द गरिएको थियो । बिहीबार उद्योगले एक विज्ञप्ति जारी गरेर श्रमिकको तलब भत्तालगायतका सुविधा भुक्तानी गर्न चल–अचल सम्पत्ति बिक्री गर्नुपरेको जनाएको छ । हरेक वर्ष नोक्सानी व्यहोरेको उद्योगको आर्थिक वर्ष २०७५÷७६ सम्म कुल घाटा दुई अर्ब १७ करोड ७५ लाख ५८ हजार तीन सय ७६ रुपैयाँ पुगेको बताइएको छ ।
२०७६ फागुन १३ गतेदेखि पूर्णरूपमा उत्पादन बन्द भएको मिल कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले बन्दाबन्दी गरेपछि मिल पनि प्रभावित भयो । उद्योगको जर्जर आर्थिक अवस्था र पुँजीको अभावको कारण व्यवस्थापन पक्षले विगत चार महिनादेखि उद्योगमा कार्यरत श्रमिकहरूको कर्मचारी सञ्चय कोषबापतको रकम र पारिश्रमिक समेत भुक्तानी गर्न सकेको छैन । उद्योगले रौतहट र त्यसवरपरका स्थानीयलाई रोजगारी दिनुको साथै स्थानीय उखु कृषकलाई समेत नगदे बालीको रूपमा उखु लगाउन प्रोत्साहन गर्दै आएको थियो ।