काठमाडौं । गएराति तेह्रथुम, ताप्लेजुङ, पाँचथरलगायतका पूर्वी पहाडमा अविरल वर्षका कारण ठूलो धनजनको क्षतिलाई न्यूनीकरण गर्न राहत र उद्धारमा जुट्नका लागि सरकार र सरोकारवाला सङ्घसंस्थालगायत सबैमा सांसद योगेशकुमार भट्टराईले आह्वान गरेका छन् ।
आइतबारको सङ्घीय संसद्, प्रतिनिधिसभाको वैठकमा सांसद भट्टराईले उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासँग थप सक्रियताको अपेक्षा गरेका छन् ।
“केही दिनदेखि आएको अविरल वर्षाका कारण पूर्वी पहाडका केही जिल्लामा गम्भीर क्षति भएको छ, ताप्लेजुङ, सङ्खुवासभा, तेह्रथुम, पाँचथर जस्ता जिल्लामा ठूलो जनधनको क्षति पुगेको छ, ताप्लेजुङ जिल्लामा सिदिङ्गा गाउँपालिका, सृजङ्गा गाउँपालिका, मैयाखोला गाउँपालिका र त्रिवेणी गाउँपालिकालगायत विभिन्न स्थानमा बाढीपहिराका कारण दर्जनौँ घर नष्ट भएका छन् ।” सचिव भट्टराईले भने ।
सचिव भट्टराईले ताप्लेजुङ जिल्लामा अहिलेसम्म पाँच जनाको अवस्था अज्ञात रहेको भन्दै अन्य मानिस पनि सुरक्षा गर्दै नजिकैको विद्यालय, सार्वजनिक स्थानमा आएर बस्नुपर्ने अवस्था आएको बताए ।
“सिदिङ्गा गाउँपालिकाको मेहेलेका एउटै परिवारका यादव बुढाथोकीको श्रीमती भगीमाया बुढाथोकी, सन्ध्या बुढाथोकी, प्रज्वल बुढाथोकी, बेपत्ता छन्, सुरुङखिममा पनि दर्जनौं घरमा क्षति पुगेको छ, त्यसैगरी ताप्लेजुङको खेवाङमा थुप्रै घर नष्ट भएका छन्”, उनले भने ।
ताप्लेजुङका यातायात बन्द भएको र टेलिफोनका टावर विद्युत् गृहमा क्षति पुगेको, पाँचथरमा सडक पुल भत्किएको उनको भनाइ छ । ताप्लेजुङका अन्य गाउँपालिकामा समेत ठूलो क्षति पुगेको उनले बताए ।
“पूर्वी पहाडमा ठूलो मानवीय र भौतिक क्षति भएको छ । सरकारले घटनाको सम्पूर्ण जानकारी दिनुपर्छ । विपत्सँग सम्बन्धित भएको हुनाले गृहमन्त्रीले सम्पूर्ण विपत्को अवस्थाको जानकारी सदनमा गराउनुपर्छ ।” सांसद भट्टराईले भने । भत्किएका सडकलाई तत्काल सञ्चालन गर्न, पीडितलाई आवास र खाद्यान्न सङ्कट भएकाले त्यसमा सरकारले व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।