काठमाडौं । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा बुधवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले योग र ध्यानको विषय पाठ्यक्रममा समावेश गर्ने उद्देश्य सरकारले राखेको बताएका छन् ।
प्राथमिक तहदेखि नै यो विषय विद्यालय र विश्वविद्यालयसम्मको पाठ्यक्रममा समावेश गर्ने उद्देश्य रहेको उनको भनाइ छ । योग र ध्यानको महत्व, परम्परा र विरासतलाई आत्मसाथ गरेर नै सरकारले यस्तो उद्देश्य राखेको प्रधानमन्त्रीले बताए ।
प्रधानमन्त्रीले भने, मलाई विश्वास छ, नेपाल सरकारको यो निर्णयले योग आध्यात्मिक चिन्तनको महत्वलाई स्थापित गर्न गुणात्मक र दीर्घकालीन भूमिका खेल्नेछ ।’
योग अभ्यासका लागि नेपाल सुन्दर भूमि रहेको बताउँदै उनले विश्वभरका अध्येताहरुका लागि नेपाल मूल गन्तव्य बन्नसक्ने सम्भावना रहेको बताए । उनले योग नेपालको अमूल्य सम्पत्ति भएको समेत बताए ।