काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको समेत प्रभाव छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित कोशी र बागमती प्रदेशका तराईका भू(भागमा सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। साथै मेघगर्जन र चट्याङ्ग सहित देशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
कोशी मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशभरको बदली हुने हुँदा पश्चिम नेपालका तराईका भूभागमा तापक्रम घट्ने सम्भावना रहन्छ।