काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले रिभर्स रिपो जारी गरी १० अर्ब रुपैयाँ फिर्ता लगेको छ । राष्ट्र बैंकका अनुसार बिहीबार रिभर्स रिपो जारी गरी वित्तीय प्रणालीबाट उक्त परिमाणमा रकम उठाएको हो । रिभर्स रिपो असार १४ गते परिपक्व हुनेछ । वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था भएमा त्यस्तो रकमको दुरूपयोग नहोस् भन्ने उद्देश्यले केन्द्रीय बैंकले रिभर्स रिपो जारी गर्छ ।
राष्ट्र बैंकले चालू आर्थिक वर्षमा यसअघि २०७९ माघ १२ गते सात दिन अवधिको पाँच अर्बको रिभर्स रिपोको बोलकबोल गरेको थियो । राष्ट्र बैंकले अन्तरबैंक बजारमा भारित औसत ब्याजदर नीतिगत दर सात प्रतिशतभन्दा माथि भएमा रिपो र तल भएमा रिभर्स रिपो जारी गरी तरलता व्यवस्थापन गर्ने व्यवस्था छ । अहिले अन्तरबैंक ब्याजदर चार प्रतिशतमा झरेको छ । बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८४ दशमलव शून्य दुई प्रतिशतमा झरेको छ । यसले वित्तीय प्रणालीमा अधिक तरलता भएको अवस्थालाई जनाउँछ । अहिले बैंक तथा वित्तीय संस्थामा ५५ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप छ । यसमध्ये ४८ खर्ब ५६ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।