काठमाडौँ ,बैशाख ९
सरकारले कोभिड–१९ रोगबारे हालसम्म कुल ३३ हजार ५ सय ६२ जनाको परीक्षण गरिएको जनाएको छ । पिसीआर विधिबाट आठ हजार ४ सय १४ र ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) बाट २५ हजार १ सय ४८ गरी कुल ३३ हजार ५ सय ६२ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सोमबार मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३१ पुगेको जानकारी दिए । तीमध्ये चार जना निको भएर घर फर्किसकेका छन् भने बाँकी २७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य भएको र उपचारको क्रम जारी रहेको मन्त्रालयले जनाएको छ ।
प्रवक्ता देवकोटाका अनुसार आरडीटी सबै जिल्लामा सुरु भइसकेको छ, प्रदेश नं १ मा हालसम्म दुई हजार ३ सय ४९, प्रदेश नं २ मा तीन हजार २ सय ३८, वाग्मती प्रदेशमा चार हजार ६ सय ७६, गण्डकी प्रदेशमा तीन हजार ७ सय ५१, प्रदेश नं ५ मा दुई हजार ३ सय २४, कर्णाली प्रदेशमा तीन हजार २ सय ३२ र सुदूरपश्चिम प्रदेशमा पाँच हजार ५ सय ७८ वटा आरडीटी परीक्षण भइसकेको छ ।
क्वारेन्टाइनमा बस्ने व्यक्तिको सङ्ख्या पाँच हजार ९ सय ३६ छ । आइसोलेसनमा रहेका बिरामीको सङ्ख्या १ सय ११ छ । यसमध्ये उपत्यकाभित्र चार जना छन् भने उपत्यकाबाहिर १ सय ७ जना छन् । मन्त्रालयले सञ्चालन गरेको दुईवटा कल सेन्टर (१११५ र ११३३) मा गत २४ घण्टामा दुई २ सय ८९ वटा कल प्राप्त भएका छन् । मन्त्रालयले सबै कलको सम्बोधन गरेको छ ।
गण्डकी प्रदेशबाट १०९२ र सुदूरपश्चिम प्रदेशबाट ११४८ नं.मा निःशुल्क कल सेन्टर सुरु भएको छ । त्यसमा कोरोनाबारे आफ्नो जिज्ञासा राख्न सकिन्छ । मन्त्रालयले सञ्चालन गरेको मोबाइल एप्स हाम्रो स्वास्थ्य र वेब पेज कोभिड–१९ डट एमओएचपी डट जिओभी डट एनपीमा हालसम्म आफ्नो स्वमूल्याङ्कनका लागि इन्ट्री गर्ने व्यक्तिको सङ्ख्या २१ हजार २९१ पुगेको प्रवक्ता देवकोटाको भनाइ छ । यसमध्ये गत २४ घण्टामा ४५७ जनाले आफ्नो स्वमूल्याङ्कन फाराम भरेका छन् । जसमध्ये ३ जना रेडजोनमा भएको पाइएको छ ।
हालसम्म कुल रेडजोनमा हुनेको सङ्ख्या २६३ पुगेको छ । रेडजोनमा पर्ने व्यक्तिको नमूना परीक्षण गर्ने र त्यसको अनुगमनका लागि सम्बन्धित स्थानीय तहमा खबर गर्ने कार्य भइरहेको छ । सरकारले त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी केन्द्रीय विभाग, कीर्तिपुरबाट कर्णाली प्रदेश सरकारका लागि उपलब्ध हुने गरी पीसीआर मेशिन उपलब्ध गराएको छ । आइतबार मात्रै उदयपुरमा थप ५२ जनामा पीसीआर नमूना सङ्कलन गरिएको छ ।
नमूनाको परीक्षण हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भइरहेको छ । मन्त्रालयले क्यान्सर, डाइलासिस गर्नुपर्ने, मुटु रोगी, प्रसूतिसम्बन्धी जटिल र सुत्केरीसम्बन्धी रोग र दमलगायतका रोग र अन्य दीर्घ रोग सेवा दिइरहेका विशिष्ट प्रकृतिका अस्पताललाई सेवा निरन्तर सुचार गर्न आग्रह गरेको छ । ‘विभिन्न व्यक्ति र सङ्घसंस्थाले हेमोफिलिया बिरामीलाई आवश्यक सामग्री उपलब्ध गराउन गरेको आग्रहको बारेमा सरकारले सहजीकरण गर्नेछ, लकडाउनका कारणले अस्पतालसम्म पुग्न नसकेर औषधि सेवन गर्नबाट वञ्चित भएका बिरामीका लागि पनि मन्त्रालयले सहजीकरण गर्नेछ ।”