काठमाडौं । सहकारीबाट बचतकर्ता ठगिने सिलसिला बढेपछि काठमाडौँ महानगरपालिकाले मातहतका सहकारीको नियमनमा चासो देखाएको छ ।
बुधबार महानगरपालिकाको सहकारी विभागले एक सूचना प्रकाशित गरी महानगरले तोकेको समयमा सबै शेयर सदस्यलाई उपस्थित गराई साधारणसभा सम्पन्न गर्न निर्देशन जारी गरेको छ । साथै महानगरपालिकालाई संस्थाको यथार्थ स्थिति र कारोबारबारे जानकारी गराउन महानगरले आग्रह गरेको छ ।
यसैगरी सहकारीको यथार्थ स्थिति र कारोबारबारे जानकारी गराउन मातहतका सहकारीहरुलाई महानगरप्रमुख बालेन शाहले पनि निर्देशन दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, “वित्तीय जोखिमबाट बचौँ, सहकारीहरूलाई सङ्कटग्रस्त हुनबाट बचाऔँ ।”
महानगरपालिकाको सहकारी विभागमा शेयर सदस्य र सञ्चालकले दिने गरेका लिखित तथा मौखिक उजुरीको चाप बढेको उनको भनाइ छ । सहकारी संस्था र संस्थाका शेयरधनी तथा बचतकर्तालाई अनुरोध गर्दै उनले मूल्यवृद्धि र मुद्रा स्फीतिले वित्तीय क्षेत्रमा पारेको तरलताबाट सहकारी क्षेत्र पनि प्रभावित बनेको उल्लेख गरेका छन् ।