काठमाडौं । महानगरभित्र सञ्चालित निजी विद्यालयलाई सामुदायिक विद्यालयसरहकै तलबको व्यवस्था गर्न काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले निर्देशन दिएका छन् ।
सरकारले तोकेअनुसारको तलब सुविधा प्राप्त नभए महानगरपालिकाको शिक्षा विभागमा सम्पर्क गर्न बिहीबार सामाजिक सञ्जालमार्फत् प्रमुख शाहले निजी विद्यालयका शिक्षकलाई अनुरोध समेत गरेका छन् । उनले महानगरका संस्थागत (निजी) विद्यालयका शिक्षकबाट तलबका विषयमा गुनासो आउने गरेको समेत उल्लेख गरेका छन् ।
यस्तै, काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदानलगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी सङ्घीय शिक्षा कानुनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ”, उनले भने ।
‘शिक्षा ऐन, २०२८ को दफा १२ (७) (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाइ तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ । सोहीअनुसार महानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकले प्राप्त गर्ने तलब सुविधा संस्थागत विद्यालयका शिक्षकलाई पनि प्राप्त गराउन प्रमुख शाहले निर्देशन दिएको हो ।