काठमाडौं । बकर इदका अवसरमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले चाडपर्वका माध्यमबाट नेपालीमा आपसी एकता, सद्भाव र सहिष्णुताको भावना अभिवृद्धि भई बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छिन् ।
पूर्वराष्ट्रपति भण्डारीले इद उल अजहा (बकर इद), २०८० का अवसरमा शुभकामना सन्देश दिँदै नेपाली समाजको विशिष्टता सामाजिक एवं सांस्कृतिक विविधता भएकाले मानव जातिका मुख्य महाजातिहरू–आर्य, मङ्गोल, अन्तर्गतका अनेकौँ जातजाति, र भाषाभाषी साथै धार्मिक, सांस्कृतिक एवं भौगोलिक वैविध्यका बीचमा आपसी सदभाव, सहिष्णुता, सहअस्तित्व र भाइचारायुक्त सौहार्दता नेपाली समाजको मौलिक पहिचान बन्न पुगेको उल्लेख गरेकी छिन् ।
सबै नेपालीलाई बकर इदले आफ्नो मौलिक परम्परा र संस्कृतिको संरक्षण, संवर्द्धन र विकास गर्दै प्रगतिशील, सभ्य एवं सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने उनले शुभकामना प्रकट गरेकी छिन् ।